• २०८२ बैशाख ७ शनिबार
  • Saturday, 19 April, 2025

गृहमन्त्री लेखकले भनेः सत्ता गठबन्धनमा समस्या छैन, सरकार ढल्दैन

पाेखरा । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दलहरू नेपाली काँग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यकममा  उनले दल एवम् सत्ता साझेदारीमा कुनै समस्या नभएको भन्दै सरकार पनि नढल्ने स्पष्ट पारे ।

सरकार सहमतिका साथ नै अघि बढीरहेको भन्दै उनले भने, “साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनु परेको छ ।”

पछिल्ला समयमा संविधानका साथै संघीय लोकतान्त्रि गणतन्त्र विरोधी गतिविधिहरू देखा परिरहेको बताउँदै उनले संविधान विरोधी एवम् लोकतन्त्र विरोधी गतिविधि जनताले नरोज्ने बताए ।

लोकतन्त्रमा स्वतन्त्र प्रेस तथा सञ्चारमाध्यम रहने उल्लेख गर्दै लोकतन्त्र विरोधीहरूको पहिलो प्रहार नै सञ्चार माध्यम माथि हुने विगतकाे अनुभवबाट देखिएकाे उल्लेख गरे ।

अघिल्लो पुस्तका साथै वर्तमान पुस्ताको अथक प्रयासबाट बर्तमान संविधान बनेको उल्लेख गर्दै उनले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताए ।

नेपालमा सात दशकको अन्तरालमा सातवटा संविधान बन्नुले अस्थिरतालाई देखाउने बताउँदै उनले बर्तमान संविधानलाई पनि अन्त्य गरी मुलुकलाई पुन अँध्यारोतर्फ धकेल्न नदिइने उल्लेख गरे ।

लोकतन्त्रमा कमीकमजोरीलाई पनि सुधार गर्दै जान सकिने बताउँदै उनले यसमा नागरिक सर्वोपरि हुने स्पष्ट पारे । संविधान विरोधी गतिविधिका माध्यमबाट अराजकता, वितण्डा मच्चाउन खोज्ने प्रबृत्तिलाई राजनीतिक रुपमा जवाफ दिनुका साथै कानुन बमोजिम पनि अघि बढीने उनको भनाइ छ ।

आमाको नाममा नागरिकता प्रदान गर्ने सम्बन्धमा विधेयक अघि बढाइसकिएको बताउँदै उनले यो समस्या चाँडै नै समाधान हुने विश्वास व्यक्त गरे ।

गभर्नर नियुक्ति लगायतका विषयमा समस्या नरहेको भन्दै उनले सही व्यक्तिलाई सही स्थानमा ल्याइने बताए । शिक्षककका मागलाई सम्बोधन गर्ने सम्बन्धमा सरकार प्रतिवद्ध भएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर