• २०८२ बैशाख १२ शुक्रबार
  • Friday, 25 April, 2025

डुंगामा आगलागी हुँदा कंगोमा १४८ जनाको मृत्यु 

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोमा मंगलबार भएको डुंगा दुर्घटनामा १४८ जनाको ज्यान गएको छ । अधिकारीहरूले सय भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका जनाएका छन् । 

देशको उत्तर–पश्चिममा रहेको कंगो नदीमा इन्धन बोकेको काठको डुंगामा आगलागी भएको थियो । त्यसलगत्तै उक्त डुंगा पल्टिएको थियो ।

डुंगामा करिब ५ सय यात्रु सवार थिए । नदी आयुक्त कम्पिटेन्ट लोयोकोले एक व्यक्तिले डुंगामा खाना पकाउँदै गर्दा आगो फैलिएको थियो । त्यसलगत्तै नदीमा हाम फालेका महिला र बालबालिकासहित धेरै यात्रुले पौडिन नसकेर ज्यान गुमाएका हुन् ।

उनका अनुसार दर्जनौंलाई जीवितै उद्दार गरिएको थियो । तर तीमध्ये धेरैजसो नराम्ररी जलेका थिए । रेडक्रस र प्रान्तीय अधिकारीहरूको सहयोगमा उद्धार टोलीहरू बेपत्ताहरूको खोजीमा जुटिरहेका छन् ।

लोयोकोका अनुसार एमबान्डाका सहरनजिकै मोटरबाट सञ्चालित एचबी कोङ्गोलो नामक काठको डुंगा माटानकुमु बन्दरगाहबाट बोलोम्बा क्षेत्रको लागि निस्केको थियो ।

‘५०० यात्रुमध्ये मृत्यु हुनेको संख्या अत्यन्तै उच्च थियो,’ सिनेटर जीन(पल बोकेट्सु बोफिलीले शुक्रबार भनेका छन्, ‘नराम्ररी जलेरका १ सय ५० जना भन्दा बढी मानवीय सहायताबिना बाँच्न बाध्य छन् ।’ मध्य अफ्रिकी देश कंगोमा बारम्बार घातक डुंगा दुर्घटना हुने गरेका छन् ।

अधिकारीहरूले रातको समयको यात्रा र डुंगामा क्षमताभन्दा बढी यात्रुहरू चढ्ने गरेकाले दुर्घटना हुने गरेको बताउँछन् ।

कंगोका नदीहरू यसको १० करोड भन्दा बढी मानिसका लागि यातायातको मुख्य माध्यम हुन् । विशेष गरी कम पूर्वाधार भएका दुर्गम क्षेत्रहरूमा त्यस्तो यातायातको विकल्प छैन ।

हालैका वर्षमा डुंगा दुर्घटनामा सयौंको मृत्यु भएको छ । ‘हाम्रो भव्य कंगो नदी र हाम्रो देशमाका तालहरू कंगोली जनताका लागि विशाल चिहान बनेका छन्। यो अस्वीकार्य छ,’ बोफिलीलाई उद्धृत गर्दै गार्जियन जनाएको छ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर