• २०८२ बैशाख ८ आइतबार
  • Sunday, 20 April, 2025

राजावादीविरुद्ध गणतन्त्रवादीहरु एकः ज्ञानेन्द्रलाई गर्न सक्छन् थप कारबाही ?

काठमाडौं । राजावादीहरुको राजतन्त्र फर्काउने अभियान तिब्र भइरहेका बेला गणतन्त्रवादीहरु पनि एक ठाउँमा उभिने भएका छन् । प्रधानमन्त्री केपी ओलीले आज बोलाएको गणतन्त्रवादी ठुला तीन दलका शीर्ष नेताको बैठकमा विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुगेका थिए । 

प्रमुख तीन दलका शीर्ष नेतृत्वले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकढिक्का भएर उभिने प्रतिबद्धता जनाए । बैठकमा राप्रपाले आइतबार गर्ने भनिएको प्रदर्शन र राजावादीहरूकाे सक्रियताका बारेमा छलफल भएको थियो ।

राप्रपाले निषेधाज्ञा तोड्ने सार्वजनिक उद्घोष गरेर संविधान र कानुनका विरुद्धमा अघि बढ्न खोजेको भन्दै नेताहरुले आपत्ति जनाएका छन् । उनीहरूले राजा फर्काउने नाममा असंवैधानिक काम गर्ने तथा काम गर्न उक्साउने जाे सुकैलाइ कानुन अनुसार कारबाही गर्न सरकार सदैव तयार रहेकाे स्मरण गराएका छन् । 

पूर्व राजा ज्ञानेन्द्र शाहले राजावादीहरूलाइ हाैस्याउन नछाेड्ने र अराजक गतिविधि गर्न प्राेस्ताहन गरिरहेकाे सरकारकाे ठहर छ ।

‘तीन नेताबीच बालुवाटारमा भएको छलफलको निष्कर्ष भनेकै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा एकढिक्का भएर उभिन्छौं भन्ने साझा निष्कर्ष हो, अर्को गणतन्त्र, लोकतन्त्र र संविधानका विरुद्धमा हुने जनप्रदर्शन आन्दोलन होइन । राजनीतिक अस्थिरता फैलाउने बितन्डा हो भन्ने नेताहरुको साझा बुझाई हो,’ बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकले भने, ‘संविधान र गणतान्त्रिक शासन व्यवस्थाको रक्षाका हामी एक ठाउँमा छौं भन्ने सन्देश दिनु भएको छ ।’

छलफलमा संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेका कामबारे सामान्य जानकारी गराउने काम भएको  प्रधानमन्त्रीका सल्लाहकार अग्नी खरेलले जानकारी दिए ।

बैठकमा गृहमन्त्री लेखकसमेत सहभागी थिए ।

शीर्ष नेताहरूकाे परामर्श पछि गृह मन्त्रालयले राप्रपाको प्रदर्शनलाई लक्षित गरेर शनिबार विज्ञप्ति निकाल्दै राष्ट्रिय प्रजातान्त्रिक पार्टीले तोकिएको निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक रुपमा आएका समाचार र अभिव्यक्तिहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लघंन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सैह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुनबमोजिम कारबाही हुने विज्ञप्तिमार्फत जनाएको छ ।

गृहले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुनसमेत आमनागरिकमा अपिल गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर