• २०८२ बैशाख ८ आइतबार
  • Sunday, 20 April, 2025

राजावादीलाई लक्षित गर्दै प्रचण्डले भनेः धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन 

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा धमिलो पानीमा माछा मार्ने दुस्प्रयास भइरहेको र त्यो सफल हुन नदिइने बताएका छन् । 

नेवाः राष्ट्रिय मुक्तिमोर्चाद्वारा शनिबार काठमाडौँको वसन्तपुरमा आयोजित खबरदारीसभामा उनले प्रतिगामी षड्यन्त्र र दुस्साहसलाई परास्त गरिने बताए ।

नेपालको लोकतान्त्रिक आन्दोलनलगायत परिवर्तनमा नेवार समुदायले खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष प्रचण्डले विभिन्न कारणले संविधान जारी हुनेबेला केही मुद्दा छाडे पनि माओवादी आफ्ना मुद्दाबाट पछि नहटेको धारणा राखे ।

पूर्वप्रधानमन्त्री प्रचण्डले समाजवादको भ्रुण नेवार समुदायको इतिहास, भाषा, संस्कृतिमा र उत्पादनमा समेत रहेका बताए । उनले नेवार समुदायका संरचनामा नै नेपाली विशेषताको समाजवाद रहेको धारणा राखे ।

'नेवार समुदायको इतिहासको अध्ययनबाट मात्रै नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिन्छ । नेवार समुदायका कतिपय माग सम्बोधन गर्न आफ्नो सरकारको पालामा ठूलै संघर्ष गर्नुपरेको थियो', प्रचण्डले भने, 'नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत् मेरै नेतृत्वमा घोषणा भयो । नेपाल भाषालाई सरकारी दस्ताबेजको भाषाका रूपमा प्रयोग गर्ने निर्णय भयो । हाम्रै सल्लाहमा प्रदेश सरकारले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।'

प्रचण्डले नेवार समुदायको चाहना, संस्कृति, भाषा, इतिहास, आत्मनिर्णयको अधिकार र इतिहास हराउन नदिन माओवादी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर