एमाले अखिलले भन्योः शिक्षक आन्दोलन सरकारी विद्यालय कमजोर पार्ने षड्यन्त्र

काठमाडौं ।सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षकहरुको जारी आन्दोलनलाई सरकारी विद्यालय कमजोर बनाउने गम्भिर षडयन्त्रका रुपमा अर्थ लगाएको छ ।
अनेरास्ववियुले शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयमाथि प्रश्न उठिरहेकाले समाधान गर्न आन्दोलनरत शिक्षक र सरकारलाई अनेरास्ववियुले आग्रह गरेको छ ।
‘निजी शिक्षण संस्थाका निकट स्वार्थ समूहहरूले सरकारी विद्यालय कमजोर पार्न र विद्यार्थीलाई निजी संस्थातर्फ लतार्न गम्भीर षड्यन्त्र गरिरहेका छन्,’ अनेरास्ववियु अध्यक्ष समिक बडालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो ५ वर्षमा निजी विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वार्षिक ८ प्रतिशतले बढेको दाबी अनेरास्ववियुले भनेको छ । ‘सार्वजनिक विद्यालयहरूबाट वार्षिक झन्डै ७ लाख विद्यार्थी वाहिरिएका छन् । विद्यालय बन्द हुने वित्तिकै निजी विद्यालयहरू भर्ना खुला गर्दै आकर्षक अफरको प्रचार गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा नधकेल्न अनेरास्ववियुले माग गरेको छ । ‘शिक्षाजस्तो संवेदनशील पेशामा आवद्ध गुरुहरूले विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने खालको आन्दोलन गर्नु गम्भीर पेशागत प्रश्न पनि हो,’ विज्ञप्तिमा भनिएको छ ।
शिक्षकको माग तुरुन्त सम्बोधन गरी शिक्षा ऐन संसदमा टेबल गरेर पारित हुने सुनिश्चितता प्रदान गर्न सरकारसँग अनेरास्ववयुले माग गरेको छ ।
विद्यालय फर्किन शिक्षकहरूलाई अनेरास्ववियुले आग्रह गरेको छ । ‘अब आन्दोलनको ऊर्जा विद्यालय फर्केर प्रयोग गर्नुस्। आफ्ना मागका लागि लड्नुहोस्, तर विद्यार्थीलाई घेराबन्दीमा नपारौं,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति :
प्रतिकृया दिनुहोस