कक्षा १२ को परीक्षा सर्दैन– परीक्षा बाेर्ड

काठमाडाै । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसार्ने भएको छ। मंगलबार बसेको बोर्ड बैठकले परीक्षा समन्वय समिति मार्फत् परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको एक सदस्यले बताए।
बिहीबार (वैशाख ११ गते) देखि कक्षा १२ को परीक्षा सुरू हुँदैछ।
तर शिक्षकहरूको आन्दोलनका कारण परीक्षा प्रभावित हुने देखिएपछि यसबारे निर्णय लिन आज बोर्ड बैठक बोलाइएको थियो।
यसअघि भएका सहमतिहरू समेटेर विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिँदै आन्दोलनरत शिक्षकहरूले कक्षा १२ को परीक्षमा सहभागी नहुने निर्णय नै गरेका थिए।
देशैभरिका सामुदायिक विद्यालयका शिक्षकहरु तीन सातादेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेका कारण परीक्षाप्रति संशय सिर्जना भएको थियो।
बोर्डले सबै जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ।
वैशाख ११ गते बिहीबारदेखि सञ्चालन हुने परीक्षा २४ गते सकिने तालिका बोर्डले सार्वजनिक गरेको छ।
परीक्षा नियन्त्रक शर्माले परीक्षा सार्दा गलत सन्देश जाने तथा विद्यार्थीको समय खेर जाने भएकाले परीक्षा तोकिएकै समयमा सञ्चालन गरिने जानकारी दिए।
‘जिल्ला जिल्लामा सिडिओले कर्मचारी परिचालन गरेर, नेपाल सरकारले जिम्मा लिने गरी तोकिएकै समयमा परीक्षा लिने निर्णय भएको छ,’ शर्माले नेपालखबरसँग भने, ‘कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समयमै हुन्छ। कर्मचारी परिचालन गरेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ।’
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिलाई सम्पूर्ण जिम्मा दिएर परीक्षा गर्ने निर्णय भएको परीक्षा नियन्त्रक शर्माले बताए।
प्रतिकृया दिनुहोस