देउवा पर्खदै प्रचण्डः त्यसपछि सरकार ढाल्ने गतिविधि बढाउने

काठमाडौं । पछिल्लो साता नेपाली राजनीतिमा वर्तमान एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढल्ने विषय संचारमाध्यम, चिया पसलदेखि बैठकहरुका एजेण्डा बनिरहेका छन् ।
कांग्रेस महामन्त्री गगन थापालगायतका नेताले नै सरकार छोड्न सक्ने अभिव्यक्ति दिएपछि विपक्षी दल थप हौसिएको छ भने प्रधानमन्त्री केपी ओली नै सरकारबारे चिन्ता नरहेको बताउन थालेका छन् ।
प्रमुख प्रतिपक्ष दलका नेता एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धनबारे कांग्रेस सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि कुरा हुने बताएका छन्। देउवाका आफ्नो स्वास्थ्य उपचारका लागि थाइल्याण्डको बैंकक गएका छन्। अध्यक्ष प्रचण्डले देउवा थाइल्याण्ड जानेबेला टेलिफोनमा कुराकानी भएको र अब फर्किएपछि थप कुराकानी हुने बताए।
बिहीबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष दाहालले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा सांसदहरूलाई ब्रिफिङ गरेका थिए। त्यसक्रममा प्रचण्डले देउवा उपचारका लागि बैंकक जानुअघि आफ्नो संवाद भएको खुलाएका थिए।
बैठकमा सांसदहरूले कांग्रेससित गठबन्धन बनाउनेबारे राखेको जिज्ञासामा दाहालले माओवादी तत्काल सरकारमा जाने पक्षमा नरहेको, तर बाहिर बसेर कांग्रेसको नेतृत्वमा बन्ने सरकारलाई सघाउन सक्ने बताएका थिए । ‘तत्काल सरकारमा जाने पक्षमा हामी छैनौँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सांसद माधव सापकोटाले भने, ‘देउवाजी फर्किएपछि कुरा गरौँला भन्ने कुरा भएको छ।’
बैठकमा अध्यक्ष प्रचण्डले अहिलेको सरकार आफ्नै कारणले ढल्ने अवस्थामा पुगेको बताएका थिए। उनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति, शिक्षकको आन्दोलन, कांग्रेसभित्रको असन्तुष्टिका कारण ओली सरकार संकटमा परेको बताएका थिए।
‘राष्ट्र संकटमा परेको बेला हेरेर बस्ने अवस्था छैन । हामीसँग अवसर र चुनौती छ,’ दाहालको भनाइ थियो, ‘सरकार आफ्नै कारणले ढल्छ ।’ केही दिनअघि देउवा र दाहालबीच भएको संवादमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए ।
कांग्रेस र एमालेबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति अन्यौलमा परेपछि सरकारको भविष्यमाथि आशंका हुन थालेकोछ। देउवा र ओलीबीच गभर्नर गुणाकर भट्टराई नियुक्त गर्ने सहमति भए पनि प्रधामन्मन्त्रीले नियुक्ति प्रक्रिया अघि बढाएका छैनन् ।
असार ३० गते प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले ओलीले ३१ गते मन्त्रिमण्डल विस्तार गरेका थिए। यो अवधिमा देखिने गरी काम गर्न नसकेको भन्दै अब विकल्प खोज्नुपर्ने अवस्थामा कांग्रेसका नेताहरू पुगेको बताउँछन्। उनीहरू प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति रूष्ट छन्।
सरकारका कामकारबाहीलाई लिएर गम्भीर छलफल गर्नुपर्ने आवाज पार्टीभित्र उठ्न थालेको छ।
उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा मात्र होइन, प्रवक्ता डा. प्रकाशशरण महतले समेत प्रधानमन्त्रीसँगको असन्तुष्टि सार्वजनिक गरिरहेका छन्।
सरकारको कार्यशैलीले जनतामा निराशा झन् चुलिँदै गएको भन्दै उनीहरू एमालेसँग मिलेर जानेबारे सोच्नुपर्ने निचोडमा पुगेको बताउँछन्।
प्रतिकृया दिनुहोस