भाटभटेनी लुटपाटमा सहभागि कांग्रेस सहमहामन्त्रीको छोरा काे हुन् ?

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले भाटभटेनी लुटपाटमा नेपाली कांग्रेसका सहमहामन्त्रीको छोरा पक्राउ परे पनि तुरून्तै छाडिएको बताएका छन्।
चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुने-कोटेश्वर क्षेत्रमा प्रदर्शन भएको थियो भने कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटमा लुटपाट भएको थियो।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्रीका छोरा पनि पक्राउ परेको बताए।
‘हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू, भाटभटेनीको लुटपाटमा तपाईंकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेको छ। किन तुरून्तै छोड्नुभयो?,’ उनले प्रश्न गरे, ‘तपाईंको नेताको छोराले रक्सी लिएर गयो। उसले ल्याएको मान्छेले रक्सी खान्न मलाई कपडा काम लाग्छ भनेर कपडा लिएर गयो। पछि भिडिओ हेरेर प्रहरीले पक्रियो। पक्रँदा त नेताको छोरा रहेछ, नेताको छोरालाई छोड्नुभयो ल्याएको मानिस छुटेन। यो कुरा सार्वजनिक गरिदिन्छु भनेपछि दुई घन्टाभित्र तपाईंहरूले छोड्नुभयो, त्यसकारण त्यो सत्यतथ्य सार्वजनिक हुन जरूरी छ।’
प्रतिकृया दिनुहोस