केसीको प्रश्न: आफू भ्रष्टाचारमा लिप्त, जनतालाई कसरी सम्झाउनु ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्यसत्तामा रहेकाहरूको कमजोरीकै कारण लोकतान्त्रिक व्यवस्था खतरामा परेको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको आज (शुक्रबार) को बैठकमा बोल्दै अध्यक्ष केसीले सत्तामा गएकाहरूले अप्ठ्यारो परेका बेला सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण व्यवस्थामाथि खतरा बढेको बताए।
उनले लोकतन्त्र र गणतन्त्रमाथि भइरहेको व्यापक हमलाको समाधान सबै दलहरू मिलेर गर्नुपर्ने उल्लेख गरे । सत्तामा बसेकाहरू नै भ्रष्टाचारमा लिप्त र व्यवस्था विरोधी काम गरिरहे जनतालाई सम्झाउन नसकिने उनको भनाइ छ ।
उनले भने, ‘सत्ता र शक्तिमा गएकाले जब अप्ठ्यारो पर्छ सम्झौता गर्छन्, तर सम्झौताहरू कार्यान्वयन गर्दैनन् । ०४६ सालको कुरा लिनुस्, २०६२/०६३ सालको कुरा लिनुस् । अहिले पनि हजारौँ शिक्षकहरू सडकमा छन्। चारैतिरबाट लोकतन्त्र र गणतन्त्रमाथि व्यापक हमला भइरहेको छ, त्यसको समाधान हामी सबै मिलेर गर्नुपर्छ। यदि हामी आफैले भ्रष्टाचार गरेका छौं, लोकतन्त्र र गणतन्त्र विरोधी आचरण गरिरहेकै छौं भने जनतालाई कसरी सम्झाउने ? आफ्ना नजिकका व्यक्तिले भ्रष्टाचार गरे पनि कारबाही हुँदैन, तर बाहिरकालाई कारबाही हुने–यो त जनताले देखेकै छन् नि।’ उनले हाल पनि कतिपय जिल्लामा २० रुपैयाँ तिरेर बाँसको पुल तर्नुपर्ने बाध्यतामा जनता रहेको उल्लेख गर्दै प्रश्न गरे, ‘त्यही हो तिमीहरूले संघीयता ल्याएर बनाएको स्विट्जरल्याण्ड जस्तो नेपाल ?’
प्रतिकृया दिनुहोस