देउवाले भने सरकार ढल्नेबारे ‘थाहा छैन’

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका छन्।
शुक्रबार थाइल्यान्डबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीका प्रश्नको जवाफ दिने क्रममा देउवाले ‘त्यस्तो केही नभएको’ प्रतिक्रिया दिएका हुन्।
सञ्चारकर्मीहरूले ‘गठबन्धनमा केही समस्या भएको हो?’ भनी सोधेपछि देउवाले भने, ‘त्यस्तो केही भएको छैन।’
‘सत्ता समीकरण परिवर्तन हुन्छ भन्ने छ नि?’ भनेर सोधिएको प्रश्नमा उनले त्यसबारे आफूलाई थाहा नभएको बताए।
यसैबीच सरकार परिवर्तनको हल्ला चलेपछि प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच टेलिफोनमा कुराकानी भएको छ।
प्रधानमन्त्री ओली र सभापति देउवाबीच बिहीबार बेलुकी टेलिफोनमा कुराकानी भएको परराष्ट्र मन्त्री आरजु राणा देउवाले जानकारी दिइन्।
‘केही समय मौनता भयो भने न्युजहरू आउने गर्छ, अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन, यो कसैले मनोरञ्जनका लागि चलाएको हल्ला हुनसक्छ, सरकार परिवर्तन गर्न त नेपालभित्रै बसेर गर्नुपर्ने होला, विदेशमा गएर यहाँको सरकार त परिवर्तन हुँदैन। हामी आफै छक्क पर्यौं, हिजो न्युजहरू हेर्दा। यसबारेमा हिजो बेलुकी सभापतिज्यू र प्रधानमन्त्रीज्यूबीच टेलिफोनमा कुराकानी पनि भएको छ, यस्तो केही पनि छैन,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार दिउँसो परराष्ट्र मन्त्री राणाले भनिन्।
बिहीबार महामन्त्री गगन थापाले पर्यो भने अहिलेको सरकारबाट बाहिरिन्छौं भन्ने अभिव्यक्ति दिएका थिए भने उपसभापति पूर्णबहादुर खड्काले सरकारको कार्यशैलीलाई लिएर सभापति स्वदेश फर्केपछि नयाँ ढंगले अघि बढ्ने बताएका थिए।
साथै बिहीबार नै नेकपा (माओवादी केन्द्र) को संसदीय दल बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले थाइल्याण्ड जानु अघि कांग्रेस सभापति देउवाले फोन गरेको र आफूले स्वास्थ्यलाभ कामना गर्दै शुभयात्रा भनेको ब्रिफिङ गरेका थिए।
आन्दोलनरत शिक्षकहरूका माग पूरा गर्न सरकार गम्भीर नभएको र गभर्नर नियुक्ति ढिलाइ भएकालगायत सन्दर्भ जोडेर पनि कांग्रेस-एमालेबीच दरार आएको भन्दै समाचारहरू आएका थिए।
सरकार परिवर्तनका हल्ला चलेपछि सभापति देउवा थाइल्याण्ड हुँदै देउवा र प्रधानमन्त्री ओलीबीच कुराकानी भएको हो।
स्वदेश फर्केपछि सभापति देउवालाई पत्रकारहरूले सत्ता समीकरणमा खटपट भएको हो भनेर सोधेका थिए। ‘गठबन्धन जस्तो छ ठिक छ। केही भएको छैन,’ सभापति देउवाले भने।
सत्ता समीकरण नै परिवर्तन हुन्छ भन्ने छ अहिले भनेर पत्रकारले सोधेको प्रश्नमा सभापति देउवाले भने, ‘कसले भन्यो मलाई थाहा छैन।’
२०८१ असार १७ गते कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएको थियो। त्यसको जगमा एमाले अध्यक्ष ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। कांग्रेस-एमालेबीच सहमतिअनुसार प्रधानमन्त्री आलोपालो गर्ने समझदारी छ।
प्रतिकृया दिनुहोस