एनएसएल उपाधि भिडन्त आजः ललितपुरले पाेखराकाे सामना गर्ने

काठमाडौं । नेपाली फुटबलको शीर्ष लिगको उत्कर्ष नेपाल सुपर लिगको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि अघिल्लाे पटककाे विजेता ललितपुर र पाेखरा भिड्दैछन्र ।
उपाधि हाेडमा अनन्त तामाङले नयाँ इतिहास लेख्न सक्नेछन् । यदि ललितपुर सिटी एफसीले शनिबार नेपाल सुपर लिग (एनएसएल) जित्छ भने । दोस्रो सिजन पनि ललितपुरले उनकै नेतृत्वमा उपाधि जितेको थियो । यसपल्ट पनि उनी नै कप्तान छन् ।
फाइनलको अघिल्लो दिन शुक्रवार प्रि म्याच कन्फरेन्समा दुवै टोलीले उपाधि जित्ने दाबी गरे। ललितपुर दोस्रो र पोखरा पहिलो पटक फाइनल खेल्ने तयारीमा छ ।
दुई टोली फरक यात्राबाट फाइनल पुगेका हुन्। अपराजित रहँदै अंक तालिका शीर्षस्थानमा रहको ललितपुरले पहिलो क्वालिफायरमा दुई पटकको उपविजेता धनगढी एफसीलाई माथ दिएको थियो।
अर्कोतर्फ सुरुवाती दुई खेलमा हार बेहोर्दै पोखरामा फितलो यात्रा तय गर्यो।
पोखराले दमदार पुनरागमन गर्दै काठमाडौ रेजर्सलाई गोल अन्तरमा पछि पार्यो। चौथो स्थानमा रहँदै प्लेअफमा स्थान बनायो। त्यसपछि उसले इलिमिनेटरमा चितवनलाई हरायो। दोस्रो क्वालिफायरमा धनगढीमाथि जित निकाल्दै पहिलो पटक फाइनल पुग्यो ।
पोखरा थन्डर्सका प्रशिक्षक सुमन श्रेष्ठले फाइनल प्रवेश गर्नु गौरवको विषय भएको बताए।
लिग चरणमा ललितपुरसँग ३-२ ले हारको स्मरण गर्दै श्रेष्ठले आफ्नो टोली निकै सुधारिएको बताए।
श्रेष्ठले लिगको रेफ्रीको स्तरप्रति पनि चिन्ता व्यक्त गरे। विशेष गरी ललितपुरका मणि कुमार लामाको रातो कार्ड खारेज गरिएको प्रसङ्ग उल्लेख गर्दै।
ललितपुरका मुख्य प्रशिक्षक साइमन निकोलस ग्रेसन आत्मविश्वास र संयमित देखिएका छन्। ‘हामीले पर्याप्त विश्राम पायौं, तयारी राम्रो छ, र टोली मानसिक तथा शारीरिक रुपमा तयार छ। उपाधि रक्षा गर्न उत्साहित छौं,’ उनले भने।
ललितपुरका कप्तान अनन्त तामाङले भने, ‘ हामीले पहिलो क्वालिफायरपछि ५–६ दिन विश्राम पायौं, तयारी राम्रो छ। म सधैं खेलाडीबीचको सम्बन्ध बलियो बनाउने प्रयास गर्छु, त्यसको फल नतिजामा देखिन्छ।’
प्रतिकृया दिनुहोस