• २०८२ बैशाख १५ सोमबार
  • Monday, 28 April, 2025

अस्वस्थ भनेर छाेडिएका धवल शमशेर भोलिको आन्दोलनमा सहभागी हुने

काठमाडाैं । राप्रपाका महामन्त्री तथा जनआन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले विचार स्वतन्त्रतामा बन्देज लगाउने सरकारको प्रयासको विरोध र आस्थाका बन्दीको रिहाइको माग गर्न सोमबार जनप्रदर्शनमा सहभागी हुन सबै प्रजातन्त्रवादी, राष्ट्रवादीलाई आह्वान गरेका छन्।

'भारतमा स्वास्थ्य परीक्षणपश्चात् आजै बेलुकी स्वदेश फर्कँदै छु, भोलि प्रदर्शनी मार्गमा भेटौँ। म पनि त्यहीँ हुनेछु,' नेता राणाले आइतबार एक सन्देशमा भने।

'वैशाख १५ गते राप्रपा नेपालको आयोजनामा आस्थाका बन्दीहरूको तत्काल रिहाइ र विचारका आधारमा बन्देज लगाउने ऐन बनाउन पाइदैन भन्दै काठमाडौंको प्रदर्शनीमार्गमा हुने जनप्रदर्शनमा सहभागी हुन सम्पूर्ण हिन्दूवादी, राजावादी, राष्ट्रवादी र प्रजातन्त्रप्रेमीहरूमा हार्दिक अनुरोध गर्दछु,' राणाले भने।

'देशले अहिले परिवर्तन खोजेको छ, जनता स्थिरता र समृद्धिको पक्षमा छन्। देश र जनतालाई केन्द्रमा राखेर एक पटक सम्पूर्ण जनता जुरुक्क उठ्नुपर्ने बेला आएको छ। समान विचार बोक्नेहरु बीच अहिले एकताको आवश्यकता छ। सबै मिलौँ, जुटौँ,' उनले भने।

राणाले भने, 'देश बचाउने र बनाउने महान अभियानमा हातेमालो गर्दै कम्मर कसेर लागौं। असम्भव केही छैन। मात्र इच्छाशक्ति, उच्च मनोबल, आपसी एकता र स्पष्ट मार्गचित्र आवश्यक छ।'

'राजसंस्था र हिन्दू राष्ट्रको निमित्त समान विचार बोक्ने दल, संघसंस्था, अभियान, समूहद्वारा आयोजना हुने कार्यक्रमहरूमा साथ सहयोग रहने हाम्रो पार्टी राप्रपा र संयुक्त जनआन्दोलन समितिले पहिले नै निर्णय गरिसकेको अवस्थामा यो कार्यक्रममा सक्रिय सहभागिताको निमित्त हार्दिक अपिल गर्दछु,' नेता राणाले सन्देशमा भने।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर