सरकारसँग निर्णायक वार्ताका लागि आन्तरिक छलफलमा शिक्षकहरु

काठमाडौं । सरकारसँग पुनः वार्तामा बस्नुअघि शिक्षक महासंघ आन्तरिक छलफलमा जुटेको छ ।
आन्दोलनको रणनीति र सरकारसँगको वार्ताबारे छलफल गर्न बैठक बस्न लागेको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन् । ‘बैठक बस्दैछौं । आन्दोलनको समीक्षा गर्न बैठक बोलाइएको हो,’ उनले सुनाइन् ।
यसअघि आइतबार राति अबेरसम्म सरकारसँग वार्ता भए पनि सहमति जुट्न सकेको छैन । बुँदा–बुँदामा छलफल भए पनि केही बुँदामा कुरा मिल्ने बाँकी रहेको शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
सेवा–सुविधाको विषयमा मन्त्रिपरिषद्बाट निर्णय भए शिक्षकले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने बताउँदै आएका छन् ।
सरकारले तत्काल पूरा गर्न सकिने माग सम्बोधन गर्दै निर्णय गर्ने र शिक्षकले आन्दोलनको स्वरुप बदल्ने गरी वार्ता अगाडि बढेको छ।
आइतबारको वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक भएको र केही विषयमा कुरा मिल्न बाँकी रहेको जानकारी गराएका थिए । २८ दिनदेखि शिक्षकहरूको आन्दोलनका कारण शैक्षिक क्षेत्र ठप्प भएको छ ।
सोमबार रातिसम्म भएको छलफल सकारात्मक उन्मुख रहेकाले निर्णायक वार्ता हुन सक्ने बताइएको छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले छलफलमा बस्ने भनिए पनि समय यकिन नभएको जनाए । शिक्षकहरु प्रदर्शन सकेर बैठकमा जुटेका छन् ।
शिक्षकका माग सम्बोधन र आन्दोलन टुंगो लगाउने विषयमा शिक्षकहरूसँग छलफल केन्द्रित रहेको सापकोटाले बताए । महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले बैठकपछि शिक्षा मन्त्रालय जाने समय यकिन हुने बताइन् ।
सोमबार सत्तारुढ कांग्रेस, एमालेका नेताहरुले शिक्षक महासंघका पदाधिकारीसँग छलफल गरेका थिए । छलफल सकारात्मक भएको नेताहरुको प्रतिक्रिया छ । छलफलपछि शिक्षामन्त्री पन्त र शिक्षकहरु पुनः छुट्टै छलफलमा जुटेका थिए ।
मन्त्रिपरिषद्बाट आंशिक माग पूरा गर्ने, विद्यालय शिक्षा विधेयक पारित हुने विश्वासिलो वातावरण बनाउने र आन्दोलन स्थगित गर्ने विषयमा छलफल केन्द्रित रहेको छ ।
पूर्व शिक्षामन्त्री विद्या भट्टराईले मन्त्रिपरिषद्बाट निर्णय गर्न सकिने भनी प्रस्ताव गरेको ७ बुँदेमा अन्य केही माग थपेर पारित गर्न शिक्षकहरुले माग राखेका छन् । मन्त्रिपरिषद्बाट आंशिक माग पूरा भए शैक्षिक हडताल सहितको आन्दोलनको स्वरुप फेर्न सकिने पदाधिकारीहरुको भनाइ छ ।
उता विपक्षी दलहरुले शिक्षकका मागबारे ससदमा जरुरी सार्वनजिक महत्वकाे प्रस्ताव दर्ता गराएपनि सरकारले छलफल अघि बढाएन ।
सरकारसँगकाे वार्ता असफल भएमा शिक्षकहरुले निर्णायक आन्दोलन गर्ने तयारी गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस