सरकारले ९ बुंदे माग सम्बोधन गरे सडक आन्दोलन छोड्न शिक्षकहरु तयार

काठमाडौं । आन्दोलतरत शिक्षक महासंघका प्रतिनिधि शिक्षा मन्त्रालय पुगेपछि शिक्षामन्त्री रघुजी पन्तसँग मंगलबार साँझ वार्ता सुरु भएको छ ।
आन्तरिक बैठक र छलफलका कारण महासंघका पदाधिकारी ढिला गरि मन्त्रालय पुगेका थिए । शिक्षक प्रतिनिधि आएपछि वार्ता सुरु भएको शिक्षा मन्त्रालयका एक अधिकारीले बताए ।
सडक प्रदर्शन सकेपछि शिक्षक महासंघको केन्द्रीय नेतृत्व छलफलमा जुटेको थियो । सोमबार साँझ पनि मन्त्रालयमा छलफल भएको थियो । छलफल सकारात्मक भएको दुवै पक्षले बताएका छन् ।
नेपाल शिक्षक महासंघले आफ्ना नौ बुँदे माग सम्बोधन गर्न सरकार तयार भए आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको महासंघको बैठकले सरकारले मन्त्रिपरिषदबाट पूरा गर्न सक्ने आफ्ना नौ बुँदे माग सम्बोधन गरे आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो।
महासंघको बैठकले आन्दोलन सँगसँगै सरकारसँग पूर्वसहमति कार्यान्वयनबारे स्पष्ट मार्गचित्रसहित निर्णायक वार्ता गर्ने सर्वसम्मत निर्णय गरेको थियो।
शिक्षा मन्त्रालयले दिउँसो ३ बजे वार्तामा बोलाएको थियो।
सोमबार रातिसम्म भएको छलफल सकारात्मक उन्मुख रहेकाले निर्णायक वार्ता हुन सक्ने अनुमान गरिएको छ ।
महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापालगायत वार्तामा सहभागी छन् ।
प्रतिकृया दिनुहोस