• २०८२ जेठ २० मंगलबार
  • Tuesday, 3 June, 2025

उहिल्यै शिलान्यास भएका स्वास्थ्य स‌स्था अलपत्र, फेरि मधेसमा एकैपटक ६४ सडक शिलान्यास गर्दै ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैदिन मधेसमा ६४ वटा सडक निर्माण कार्यको शिलान्यास गर्दैछन्। 

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मधेस प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयबाट प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजे एकैपटक ६४ वटा पक्की सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

मधेसका ८ जिल्लाका ६४ वटा प्रदेश निर्वाचन क्षेत्रमा एकएक वटाका दरले डिजिटल प्रविधिबाट सडकको शिलान्यास गर्न लागिएको हो। ती सबै सडक पाँच किलोमिटरका रहने भौतिक पूर्वाधार विकासमन्त्री सञ्जय यादवले जानकारी दिए। 

६४ निर्वाचन क्षेत्रमा गरेर कुल ३२० किलोमिटर सडक निर्माणका लागि तीन आर्थिक वर्षमा सम्पन्न हुने गरि बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भई डीपीआर समेत सकेर शिलान्यास गर्न लागिएको हो। 


पाँच किलोमिटरका ती सबै सडक साढे ५ मिटर चौडाईका रहने छन्। यी सडक निर्माणमा कुल खर्च १२ सय ७० करोड खर्च हुने अनुमान गरिएको छ। 

मन्त्रालयले बिश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानिय सडक सुधार कार्यक्रम अन्तर्गत १ सय ९८ किलोमीटर कालोपत्रे सडक निर्माण, ३ सय २६ किलोमीटर बृहत सडक मर्मत र एक हजार किलोमिटर सडकको नियमित मर्मत सम्भार हुने पनि जनाएको छ।

प्रादेशिक सडक संजाल गुरुयोजना अन्तर्गत एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमको दोस्रो चरण अन्तर्गतको यो विकास आयोजना सुरु हुन लागेको भौतिक पूर्वाधार विकासमन्त्री यादवले बताए। 

प्रादेशिक क्षेत्रबाट निर्वाचित सांसदको सिफारिसका आधारमा सडकको छनौट गरिएको र सर्वदलीय सहमति अनुसार कार्यक्रम गर्न लागिएको नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले जानकारी दिए।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले १५ मंसिर २०७७ मा बालुवाटारबाट स्वीच थिचेर ३९६ आधारभूत अस्पतालको शिलान्यास गरेको झण्डै चार वर्ष पुग्दा पनि अहिलेसम्म अधिकांश अस्पतालको जग्गाको सुनिश्चितता पनि भएको छैन ।

सरकारले दुई चरणमा गरी ६५५ वटा स्थानीय तहमा आधारभूत अस्पताल बनाउने घोषणा गरेको थियो । जबकी दुई वर्षभित्रमा भवन निर्माण गरेर अस्पताल सञ्चालनमा घोषणा गरेपनि हालसम्म ४७ वटा मात्रै अस्पताल निर्माणको काम अन्तिम अवस्थामा पुगेको छ ।

२०७७ पुस १२ गते तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै थप २५९ अस्पताल बनाउने घोषणा गरे । स्वास्थ्य मन्त्रालयले त्यसपछि पनि दुई पालिकामा आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको थियो । अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरी निर्णय भएको भन्दै ती अस्पताललाई रकम विनियोजन गर्न नसक्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बजेट अभावका कारण २५० वटा अस्पताल निर्माण गर्न नसकिने अवस्था रहेको बताए । बनेका भवनमा पनि जनशक्ति राख्नका लागि केन्द्रिय सरकार पन्छिएको छ । स्थानीय तहले अस्पताल सञ्चालन  गर्ननसक्ने अवस्था बन्दा अबौं लगानी खेर जाने देखिएको छ  ।

मन्त्रालयको अनुसार ४७ वटा आधारभूत अस्पताल अन्तिम चरणको रहेको पहिलो चरणमा १० वटा अस्पतालबाट सेवा सञ्चालन गरिने तयारी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर