महासंघले निकाल्यो विज्ञप्तीः शिक्षकहरूको आन्दोलन र शैक्षिक हड्ताल स्थगित

काठमाडौं । सरकारसँगको चरणबद्द वार्तामा सहमति जुटेपछि एक महिनादेखि काठमाडौं केन्द्रीत सडक आन्दोलनमा रहेका देशभरका शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ । उनीहरुले घोषणा गरेको देशव्यापी शैक्षिक हड्ताल पनि स्थगित गरिएको नेपाल शिक्षक महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगितको निर्णय गरेका हुन् ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका मागसँग सम्बन्धित ९ बुँदामा निर्णय गरेको छ । शिक्षा मन्त्रालयमा भएको वार्तामा सहमतिपछि सरकारले मन्त्रिपरिषद्बाट मागहरु सम्बोधन गरेको हो । त्यस्तै सत्तारुढ कांग्रेस एमालेको संसदीय दल र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्रिपरिषद्बाट केही मागहरु सम्बोधन भएको र विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धतासमेत प्राप्त भएकाले हड्ताल र प्रदर्शन स्थगित गरिएको महासंघले जनाएको छ ।
महासंघले शिक्षकहरुलाई विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सञ्चालनमा सहभागी हुन आग्रह गरेको छ । तोकिएको समयमा ऐन जारी नभए कडा सडक आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि महासंघले दिएको छ ।
विगतमा भएका सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै गत चैत २० गतेदेखि महासंघले सडक प्रदर्शन थालेको थियो ।
प्रतिकृया दिनुहोस