• २०८२ बैशाख १८ बिहीबार
  • Thursday, 1 May, 2025

पार्टी एकताकै बेला रेशमको पक्राउले भड्कियो नाउपाः सरकारबाट हट्ने चेतानी

काठमाडौं । जनमत पार्टीसँगको एकताकै बेला आफ्ना संस्थापक अध्यक्ष रेशम चौधरी पक्राउ परेपछि संघ तथा प्रदेश सरकारमा रहेको सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टी भड्किएको छ ।

चौधरी पक्राउ पर्नुमा कर्मचारीको सामान्य उट्पट्याङ मात्रै नभएको निचोडमा पुगेको नाउपाले यसमा सरकारको नियत रहेको आशंका गर्दै सरकारबाट हट्ने चेतावनी दिएको छ । 

चौधरी पक्राउपछि भाँडिएको जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता अनिश्चित भएको छ।

सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टको अनधिकृत पत्रपछि पक्राउ परेका रेशम चौधरी बुधबार नै रिहा भइसकेका छन्।

तर त्यो घटनाको समीक्षा हुनै बाँकी रहेकाले एकता प्रक्रिया केही समय लम्बिने जनमतका सचिव वीपी शाहले जानकारी दिए।

दुई–चार दिन लम्बिने पनि दुई पार्टी एकता प्रक्रियामा अघि बढिसकेकाले त्यसलाई कसैले रोक्न, छेक्न नसक्ने उनको भनाइ छ।

नाउपाका नेता एवम् सांसद गंगाराम चौधरीले पनि तत्काल एकता हुने सम्भावना नरहेको बताए।

नाउपाबाट संघीय सरकारमा अरूणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन्।

सुदूरपश्चिम प्रदेशमा नाउपा सरकारमा भए पनि लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएकाले पद रिक्त छ।  

संरक्षक रेशम चौधरी रिहा भएपछि बुधबार साँझ नाउपाका उपलब्ध नेताहरूको बैठक बसेको थियो। त्यस बैठकमा जनमत पार्टीका अध्यक्ष सिके राउत पनि सहभागी हुने कुरा थियो। तर उनी पार्टीको आन्तरिक छलफलमै व्यस्त रहेकाले उनी सहभागी भएनन्।

बैठकमा बुधबारको घटनाक्रम र भाँडिएको एकता प्रक्रियाबारे सामान्य छलफल भएको नेता दामोदर पण्डितले बताए।

उनले पनि जनमत र नाउपाबीचको एकता अब नरोकिने बताउँदै दुई–विलम्ब हुन सक्ने बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर