सांसदका प्रश्नको जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको रुलिङ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले जनताका सवालमा केन्द्रीत भएर राष्ट्रिय सभामा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारका नाममा रुलिङ गरेका छन् ।
सभाको आजको बैठकमा अध्यक्ष दाहालले नियमावलीले तोकेको समयभित्र सभामा उपस्थित भएर जवाफ दिन मन्त्रीहरूको ध्यानाकर्षण गराएका हुन् ।
‘आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले उठाउनुभएका कतिपय गम्भीर विषयमा समेत नियमावलीले तोकेको अवधिभित्र सभामा आइ जवाफ दिन सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउँदछु,’ आजको बैठकमा अध्यक्ष दाहालले भने ।
आजको बैठकमा आकस्मिक र शून्य समयमा सदस्यहरुले उठाएको भारतको उडिसा राज्य स्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डष्ट्रियल टेक्नोलोजी (KIIT) मा अध्ययरत छात्रा प्रिशा साहको छात्राबासको कोठामा झुण्डिएको अवस्थामा मृत्यू भएको विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको बताए।
'एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना घटिरहनु अन्त्यतै दुखद पक्ष हो। नेपाल र भारत दुवै देशले कूटनीतिक माध्यममार्फत् यस्ता घटना दोहोरिरहनु पर्ने कारणको गहिराइमा गएर खोजी गर्न र आगामी दिनमा यस्ता घटना नहुने वातावरण बनाउन साथै यस घटनाको विषयमा निष्पक्ष रुपमा सत्यतथ्य छानविन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,' दाहालले भने ।
प्रतिकृया दिनुहोस