• २०८२ बैशाख २१ आइतबार
  • Sunday, 4 May, 2025

माओवादी छाेडिदिएपछि सांसद भएका राज्यमन्त्री गर्बुजाले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजालाई आज पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । 

प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए । 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । 

उनी प्रदेश सभामा चुनाव लड्ने तयारी गरेपनि अघिल्लाे चुनावमा कांग्रेस र माओवादीका नेताहरुले जिल्लास्तरमै छलफल गरे र टिकट साटे पछि संघकाे सांसद भएका हुन् । 

संघमा माओवादीबाट टिकट पाएका गोविन्दको ठाउँमा कांग्रेसका खमबहादुरलाई उठाउने र प्रदेशमा माओवादीबाट रेशमबहादुर जुग्जाली र हरि भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएकाे थियाे।

चुनावमा टिकट साटेर जित हाँसिल गरेका गर्बुजलाई अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री बनाए ।

प्रदेशमा चुनाव जितेर माओवादीका जुग्जाली गण्डकीको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री भइसकेका थिए भने अहिले खम्वीर राज्यमन्त्रीमा नियुक्त हुँदा खुसी थपिएको कांग्रेस उपसभापति भण्डारीको भनाइ थियो ।

बेलायती सैनिकबाट २०५३ सालमा अवकास लिएर राजनीतिमा होमिएका खम्वीर म्याग्दी कांग्रेसमा अहिले दोस्रो कार्यकालका लागि सभापति छन् । त्यसअघि उनी उपसभापति थिए । नेपाली कांग्रेसको म्याग्दीमा दरिलो खम्बा बनेका बेलायती पूर्व सैनिक खम्वीरले अवकासपूर्व नै कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताउँछन् ।

२०५६ सालदेखि भने खम्वीर म्याग्दीको राजनीतिमा चर्चित नामका रुपमा चिनिएको थियो । २०५६ सालमा नेपाली कांग्रेसबाट नारायणसिंह पुन चुनाव उठेका थिए । भर्खरै लाहुरे जीवनबाट अवकास लिएर कांग्रेसी राजनीतिमा छिरेका खम्वीरले पुनलाई जिताउने मोर्चा सम्हालेका थिए ।

गर्बुजाका श्रीमती र छोराछोरी भने बेलायततिरै छन् । उनी भने नेपालमै बसेर कांग्रेसको राजनीति गर्दै अहिले मन्त्री बन्न सफल भएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर