• २०८२ बैशाख २१ आइतबार
  • Sunday, 4 May, 2025

तेस्रो स्थानका श्रेष्ठलाई अध्यक्ष बनाएर परराष्ट्रमन्त्री राणाले एनआरएनए फुटाएकाे आराेप

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमिति र विश्वभरका राष्ट्रिय समितिहरूको असहमतिका बीच शनिबार सम्पन्न एक भेलाबाट महेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरियाे।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले नेतृत्वको उच्चस्तरीय समितिको पहलमा आयोजित एकता महाधिवेशनबाट कांग्रेस निकट महेश श्रेष्ठ निर्विरोध अध्यक्ष चुनिएका हुन्। श्रेष्ठ यसअघि १०औं महाधिवेशनमा अध्यक्ष पदमा डा. बद्री केसीसँग पराजित भएका थिए। सो निर्वाचनमा आरके शर्मा दोस्रो र श्रेष्ठ तेस्रो स्थानमा रहेका थिए।

स्रोतका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवाको सक्रिय पहल र दबाबमा श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष बनाइएको हो। मन्त्री देउवाले शेष घले समूहद्वारा प्रस्तावित अधिवेशनबाट एकता सम्भव नहुने भन्दै गत साता सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन्। तर, शनिबार सम्पन्न एकता अधिवेशनमा श्रेष्ठलाई अध्यक्ष बनाउने सहमतिपछि उनले उद्घाटन समारोहमा समेत सहभागी भइन्।

सर्वोच्च अदालतको दोस्रो आदेशअनुसार डा. बद्री केसीको नेतृत्वमा रहेको कार्यसमितिले आगामी अक्टोबरसम्म काम गर्न पाउने छ। यद्यपि, एकता महाधिवेशनपछि अब एनआरएनएभित्र दुई फरक कार्यसमिति औपचारिक रूपमा कायम भएको छ।

श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमितिमा उपाध्यक्षहरूमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार साह, मनोज कुमार श्रेष्ठ, विश्वास लिम्बु र बुद्धिसागर सुवेदी चयन भएका छन्। महिला उपाध्यक्षमा जुनु गुरुङ, महासचिवमा बाबुराम लामा निर्वाचित भएका छन्।

त्यस्तै, सचिवमा टंक गैरे, चिन्तामणि सापकोटा, तिलक गैरे र देवकी गुरुङ चयन भएका छन् भने कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना सर्वसम्मत चयन भएका हुन्। सहकोषाध्यक्षमा कृष्णप्रसाद पोख्रेल चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए।

यसैबीच, डा. बद्री केसी नेतृत्वको कार्यसमितिले आफ्नो औपचारिक धारणा सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर