नेपाल विश्वविद्यालयको उपकुलपतिमा कार्की र रजिस्ट्रारमा आचार्य नियुक्त

काठमाडौँ । नेपाल विश्वविद्यालयको उपकुलपतिमा वरिष्ठ चिकित्सक डा। अर्जुन कार्की नियुक्त भएका छन् । विश्वविद्यालयले आइतबार विज्ञप्ति जारी गरी उपकुलपतिमा कार्की र रजिस्ट्रारमा सूर्यराज आचार्यलाई नियुक्त गरिएको जनाएको छ ।
सिफारिस समितिको सिफारिसमा संरक्षक परिषद् (बोर्ड अफ ट्रस्टी) ले उपकुलपति र रजिस्ट्रार नियुक्त गरेको हो । नेपाल विश्वविद्यालय ऐन २०८१ मा विश्वविद्यालय परिषद्मार्फत चल्ने व्यवस्था गरेको छ ।
कार्की र आचार्य विश्वविद्यालय स्थापनाका लागि सक्रिय थिए । कार्की पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति समेत हुन् भने आचार्य नीति तथा पूर्वाधार विज्ञ हुन् ।
कुलपतिमा यसअघि नै बिन्दुनाथ लोहनी चयन भएका थिए । उनी एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष हुन् । कुलपतिको छनोट बोर्ड अफ ट्रस्टीका सदस्यहरु मध्येबाट गर्ने व्यवस्था छ ।
ट्रस्टीमा डा. राममनोहर श्रेष्ठ, शिवा थापा, जगदीशचन्द्र पोखरेल, विपिन अधिकारी, विमला राई पौड्याल, लक्ष्मीदेवी पाण्डे, लालकृष्ण केसी, माधवप्रसाद पौडेल, रामेश्वर खनाल र चाँदनी जोशी सदस्य रहेका छन् । यसबाहेक पनि पदेन सदस्यहरु रहने व्यवस्था छ ।
अन्तरविधात्मक अवधारणाअनुसार विभिन्न विषयमा उच्च शिक्षाको अध्ययन अध्यापन गराउने उद्देश्यले विश्वविद्यालय स्थापना गरिएको हो । सार्वजनिक तथा गैरनाफामूलक उद्देश्यले विश्वविद्यालय खोलिएको हो । विश्वविद्यालयले आफ्नै आंगिक क्याम्पस मात्र सञ्चालन गर्ने र सम्बन्धन नदिने नीतिसमेत लिएको छ ।
२०८३ देखि विश्वविद्यालयले विज्ञान, मानविकी, सूचना प्रविधि लगायतका विषयमा स्नातक तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको ट्रस्टीका सदस्य लालकृष्ण केसीले बताए ।
काठमाडौं उपत्यकाबाहेक शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भने पनि ठाउँ यकिन भइसकेको छैन । विश्वविद्यालयले काठमाडौंमा नै सम्पर्क कार्यालय स्थापना गरेर तयारीको काम अघि बढाउँदै आएको छ ।
प्रतिकृया दिनुहोस