गभर्नर नियुक्तिको लफडाले तनावमा देउवाः पदाधिकारी बैठकमा भने– छिट्टै पार लगाउँछौँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा प्राविधिक समस्या देखिएको भन्दै त्यसलाई छिट्टै पार लगाउन बताएका छन्।
शुक्रबार बुढानीलकण्ठमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा यसबारे प्रधानमन्त्रीसँग समेत कुरा भइसकेको जानकारी देउवाले गराएका थिए । यस अघि उनले बिहीबारसम्मा
प्रधानमन्त्रीले गभर्नर काग्रेसका सिफारिस अनुसार नै नियुक्त गर्ने विश्वास दिलाएकाे बताएका थिए ।
आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सभापति शेरबहादुर देउवाले सहमतिमा चाँडै नै गभर्नर नियुक्त हुने बताएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
सभापति देउवाको भनाई उदृत गर्दै उनले भने, ‘गभर्नरको विषय निकै ढिला भएकोमा चासो प्रकट भएको छ । चाँडै टुंगो लाग्छ । व्यवसायिक व्यक्तिको हातमा जानुपर्यो भनेका छौं । त्यसको चाँडो निर्णय हुन्छ । सहमतिबाट निर्णय हुन्छ ।’
केही दिनअघिको एक सार्वजनिक कार्यक्रममा पनि उनले राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्त हुन नसकेको बताएका थिए।
प्रवक्ता महतले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको संरचना निर्माणलाई चाँडो टुंगो लगाउनुपर्ने विषयमा छलफल भएको बताए ।
राष्ट्र बैंकका निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्टको राजीनामा बुधबार बेलुकासम्म स्वीकृत गराउने र बिहीबारको मन्त्रिपरिषद्को बैठकमा नियुक्ति गर्ने दुई नेताबीचको समझदारी थियो। तर त्यसअनुसार बिहीबारको मन्त्रिपरिषद्को बैठकले गभर्नर नियुक्तिबारे कुनै निर्णय गरेन।
गत सोमबार दुई शीर्ष नेताबीचको बैठकले बिहीबारको मन्त्रिपरिषद्बाट गभर्नर नियुक्ति गर्ने मनस्थिति बनाएपछि नै कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीबाट गभर्नर नियुक्तिमा कुनै अवरोध नभएको धारणा सार्वजनिक गरेका थिए।
बरु देउवाले राष्ट्र बैंकभित्रकै समस्याका कारण नियुक्तिमा ढिलाइ भएको बताएका थिए। ‘प्रधानमन्त्री ओलीज्यू गभर्नर कांग्रेसलाई दिने पक्षमा हुनुहुन्छ। त्यसमा कुनै अवरोध गर्नु भएको छैन,’ मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा देउवाले भनेका थिए।
कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि बिहीबार पनि मन्त्रिपरिषद्को बैठक बस्नुअघि प्रधानमन्त्री ओली र कांग्रेस देउवासहितका दोस्रो तहका नेताहरूबीच लामो छलफल भएको थियो।
बैठकमा सहभागी एक नेताका अनुसार अबको एक/दुई दिनभित्र पनि भट्टको राजीनामा स्वीकृत नगरिए विकल्पमा कांग्रेसले गभर्नरका लागि अर्को नाम अघि सार्ने समझदारी भएको छ।
प्रतिकृया दिनुहोस