ठमेलकाे यौनधन्दामा अफ्रिकन युवतीहरुः हिमाल हेर्दै पैसा कमाउने प्रलोभन !

बेलायत । हिमालको सौन्दर्य हेर्दै एकजना ग्राहकबाट तीनदेखि चार हजार रुपैयाँसम्म कमाउन सकिने भनेर अफ्रिकाबाट नेपालमा यौन व्यवसायका लागि युवतीहरू आउने गरेको पाइएको छ । यस घटनाले नेपालको सेतो पहिरनमा कालो धब्बा लगाएको अदालतको ठहर छ । नेपालमा यौन व्यवसाय संवैधानिक र कानुनी रुपमा प्रतिवन्ध छ । यसलाई मानव बेचविखन विरुद्धको अपराध मानेर फौजदारी मुद्दामा कारबाही हुन्छ ।
नेपालीको औसत वार्षिक आय एक हजार ४ सय ५६ डलर अर्थात् मासिक एक सय २१.३३ डलर रहेको छ । तर काठमाडौंमा सैलुन, क्लीनर, व्युटिशियन र वेट्रेसको काम गर्दा मासिक पाँच सय अमेरिकी डलर कमाउन सकिने भन्दै दलालले झुक्याएर अफ्रिकाबाट देहव्यापार गर्न युवतीहरू ल्याउने र आउने गरेको पाइएको छ । नेपालको अदालतले फैसला मार्फत–‘यौन व्यावसायमा संलग्न हुन र गराउन सहज रहे, भएको सन्देश जाने र यस्ता घटनाले नेपालको अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय ख्यातीको नकरात्मक प्रभाव पर्ने भएकाले निरुत्साहित गर्नुपर्ने’ भनेको छ ।
युगाण्डाबाट देहव्यापार गर्न नेपाल
अफ्रिकन मुलुक युगान्डाबाट महिलाहरू देहव्यापारका लागि नेपाल आएपछि अहिले देशको सेतो पहिरनमा कालो धब्बा लागेको छ । नेपालमा देहव्यापारलाई मानव बेचबिखन मानेर कारबाही हुने कानुनी व्यवस्था छ । तर, विदेशी महिलाहरू खुलेआम यौनधन्दा गर्न नेपाल आउनु र ल्याइनुले देहव्यापारको उर्भर भूमि भएको आशंका पैदा भएको छ ।
परिवर्तित नाम २६ बबरमहल (१३६) आफ्नी बहिनी नतासा भनिने इम्माकुलेट नाबासुम्बाले बोलाएर नेपाल आएकी थिइन् ।
पीडित युवतीका अनुसार उनको घरमा ७ जनाको परिवार थियो । ती सबैको हेरचाहको सम्पूर्ण दायित्व उनकै थाप्लोमा छ । उनी युगान्डाको कम्प्लास्थित इन्तेब्बे शहरमा रहेको मोबाईल पसलमा काम गर्थिन् । पसलमा काम गर्ने क्रममा रेजिना नाम गरेकी युगाण्डाकै महिलासँग पीडित युवतीको चिनजान हुन्छ । कुराकानीका क्रममा रेजिनाले दुबई, नेपाल र श्रीलंका लगायतका देशहरूमा गइ सैलुन, व्युटिशियन, क्लीनर र वेट्रेस लगायतको काम गर्ने अफर गर्छिन् । यी देशहरूमा गएर काम गरे मासिक ५०० अमेरिकी डलर कमाई हुने उनले आश्वासन दिन्छिन् ।
पीडित युवतीले रेजिनालाई सोध्छिन्– ‘ती देशहरुमा जानका लागि के कति पैसा लाग्छ ? म कुन देश जाने हो ?’ रेजिनाले नेपाल जाने भए ५ हजार अमेरिकी डलर खर्च लाग्ने बताउँछिन् । त्यसपछि पीडित युवतीले भन्छिन्– ‘मसँग यत्रो पैसा छैन ।’
फेरि रेजिनाले फकाउँदै आश्वासन दिएर भन्छिन्– तिमी नेपाल गएर काम गर । म अहिले तिमीलाई नेपालसम्म जाने सम्पूर्ण खर्च तिर्दिन्छु ।’
पीडित युवतिले रेजिनाको यो प्रस्ताव सहजै स्वीकार्छिन् । अनि फेरि सोध्छिन्– ‘म नेपाल गएपछि कसलाई भेट्ने हो ?’ रेजिनाले भन्छिन्– ‘नतासा भनिने इम्माकुलेट नाबासुम्बा नाम गरेको मेरो बहिनी नेपालमा छ, उसले तिमीलाई काममा लगाई दिन्छिन् ।’
त्यसपछि रेजिनाले पीडित युवतीलाई युगान्डाबाट दुबई ट्रान्जिट भएर नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने टिकट, हातमा सय डलर र उनकी बहिनी नतासाको फोन नम्बर दिएर पठाउँछिन् । पीडित युवती युगान्डाबाट सन् २०२३ जनवरी २८ मा प्लेन चढेपछि त्यसको भोलिपल्ट जनवरी २९ मा नेपालको विमानस्थलमा ओर्लिन्छिन् । उनी नेपाल आएपछि नतासाले रिसिभ गरेर ठमेलमा रहेको ‘होटल जर्नी होम’ को कोठा नम्बर ३०४ मा पु¥याउँछिन् । युवतीले नतासालाई– ‘मैले नेपालको कुन ठाउँमा, के काम गर्ने हो ?’ भनि सोध्छिन् ।
नतासाले प्रश्न भूँइमा खस्न नपाउँदै भन्छिन– ‘मैले तिमीलाई नेपालमा रेजिनाले भने अनुसारको काममा नभई देहव्यापार गराउन ल्याएको हुँ ।’ पीडित युवतीले नेपाल प्रहरीको अनुसन्धान अधिकृतसँगको बयानमा भनेकी छन्– ‘तिमीले एक जनासँग शारीरिक सम्पर्क राखे पश्चात् मान्छे अनुसार ४ हजार देखि ५ हजार नेपाली रुपैयाँ लिएर मलाई दिनुपर्ने हुन्छ ।’
‘मलाई तपाईंको दिदी रेजिनाले नेपालमा सैलुन, कील्नर र वेट्रेस लगायतको काम गर्ने भनि पठाएको हो । म यस्तो काम गर्दिन । बरु मलाई तुरुन्तै युगाण्डा फिर्ता गराई देऊ ।,’
पीडित युवतीको जाहेरीमा भनिएको छ– नतासाले यो तिम्रो देश होइन मैले भने अनुसारको काम गर्ने होइन भने तिमीलाई नेपालमै र तिम्रो परिवारलाई युगाण्डामै मारी दिने भनेपछि डर र त्रासमा मैले त्यो काम गर्न थालेको पिडित युवतीले आफ्नो जाहेरीमा उल्लेख गरेकी छन् ।
उनका अनुसार यसरी डरत्रास देखाउनेमा होटलका व्यवस्थापक बाबु बुढाथोकी र नतासा भनिने युगान्डाकी नागरिक इम्माकुलेट नाबासुम्बा रहेको जाहेरीमा उल्लेख छ ।
होटलमा देहव्यापार, ग्राहक नपाए खोज्न क्लब !
ठमेलमा रहेको ‘होटल जर्नी होम’ को कोठा नम्बर ३०५, ३०६, ३०७, ३०८ र अन्य विभिन्न कोठाहरुमा देहव्यापार गर्ने गरेको पाइएको छ । यी कोठाहरूमा विदेशी युवतीहरू ल्याएर देह व्यापारमा लगाइने गरेको पाइन्छ । देहव्यापारका लागि ग्राहक भने नेपाली मात्र नभएर भारत लगायतका देशबाट पनि आउने गरेको पाइएको छ ।
पीडित युवतीका अनुसार नतासाले सुरुका दिनहरुमा परपुरुषसँग अप्राकृतिक मैथुन गर्न पनि लगाउथि न । नतासा आफू स्वयम् त्यहीँ बसेर यौन सम्पर्क पश्चार ती पुरुषबाट आएको रकम आफै लैजान्थिन् । जुन दिन ग्राहकहरु आउँदैनथे त्यस दिन उनलाई क्लबहरुमा गएर ग्राहक खोजेर ल्याउन भनिन्थ्यो । मलाई असह्य पीडा भई– ‘म यस्तो काम गर्दिन’ भन्दा नतसाले तिमीलाई यही कामका लागि नेपाल ल्याएको हो भनेर हपार्दै यौन व्यवसाय गर्न बाध्य पार्थिन ।
पीडित युवती भन्छिन, - म बिरामी हुँदासमेत नजिकको मेडिकल पसलमा गएर औषधी किनेर ख्वाई मलाई दिनमा ५/६ जनासँग सोही होटल तथा ठमेलको अन्य होटलहरुमा पठाई यौनसम्पर्क तथा अप्राकृतिक मैथुन गर्न लगाउँथे ।’
पीडित युवतीले करिब १२ दिनसम्म शारीरिक सम्पर्क राखे बापत करिव ६०० अमेरिकी डलर पाएकी थिइन् । उनलाई पुनःशारीरिक सम्पर्कको लागि परपुरुषसँग जान भनियो । तर, युवतीले आफ्नो यौनाङ्ग सुन्निएकाले असह्य पीडा भएको सुनाइन् । उनले नतासालाई अब म यस्तो काम गर्न सक्दिन भनेर झगडा पनि गरिन् । त्यसपछि नतसा र होटलका मेनेजर बाबु बुढाथोकी मिलेर उनलाई धक्काल्दै होटलबाट निकालिदिए ।
उनी भन्छिन्– मलाई होटलबाट धक्का दिई निकाली दिएपछि म ठमेलस्थित फायर क्लब जाने क्रममा नाम थाहा नभएको नेपाली केटालाई भेटेपछि निजले केही समय मलाई ठमेलको सोसल होटलमा बस्ने र खाने खर्च दिई म केही समय उक्त होटलमा बसे ।’
युवतीको नेपालको भिषा अवधि २०२३ फेव्रुअरी २७ मा सकिँदै थियो । उनीसँग युगाण्डा फर्किने जहाजको टिकट नतासाले नेपाल आउँदै काटेर पठाएकी थिइन् । युवती भिषा सकिनुभन्दा एक दिनअघि युगाण्डा फर्किनका लागि टिकट लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् । उनको टिकटको अवधि २२ फेब्रुअरी २०२३ मै सकिएको थियो ।
विनास्थलका कर्मचारीले यस टिकटमा युगान्डा पठाउन नसकिने भनेर जवाफ दिए । उनी झन् पीडा बोकेर एयरपोर्ट बाहिर निस्कीइन् । त्यसपछि उनी एयरपोर्टको प्रहरीलाई जानकारी गराइन् । विमानस्थलको पर्यटक प्रहरीसमक्ष उनले २६ फेब्रुअरी २०२३ मा राम्रो जागिर लगाइदिने प्रलोभनमा पारेर नेपाल ल्याएर वेश्याबृत्ति लगाएको बताइन् । उनले भनिन्– नेपाल तथा भारतीय लगायतका पुरुषहरुसँग शारीरिक सम्पर्क राख्न लगाई मैले शारीरिक सम्पर्क राखे बापतको पैसा समेत नदिई नतासाले लिई करिब ६÷७ दिनसम्म दैनिक ५÷६ जना पर पुरुषहरुसँग अप्राकृतिक शारीरिक सम्पर्क राख्न लगाई देहव्यापारमा लगाइयो ।’
अफ्रिकाबाट देहव्यापार गर्नकै लागि आउँथे युवतीहरू
युगाण्डाबाट देहव्यापार गर्नकै लागि युवतीहरू नेपाल आउने गरेको पाइएको छ । युगाण्डाबाट नतासाले नेपालमा हिमाल पनि हेर्न पाइने र पैसा पनि कमाइ हुने भन्दै युवतीहरूलाई प्रलोभनमा पारेर नेपाल ल्याएर देहव्यापारमा लगाएको पाइएको छ । प्रहरीले पक्राउ गरेका युगान्डाका तीन युवतीको बयान यस्तो छः
सुमाया नाजेन्गोः
मुख्य दलाल नतासासँग युगान्डाकै साथी फाजिलाहले ह्वाट्सएप मार्फत चिनजान गराएको उनको बयान छ । उनले काठमाडौं जिल्ला अदालतको बयानमा भनेकी छन्– नतासाले आफू नेपालमा रहेको र नेपालमा आई वेश्यावृत्तिको काम गर्दा एकजना ग्राहक बराबर तीन हजारदेखि चार हजारसम्म नेपाली रुपैया कमाउन सकिन्छ । नेपालमा सस्तोमा खाने–बस्ने व्यवस्था म गर्छु । घुम्नका लागि हिमालहरु पनि छन् भनी विश्वास दिलाइ तिमी नेपाल आउने हो भने नेपालसम्म आएको हवाई टिकट र भिसा लगायतको खर्च वापतको ५०० अमेरिकी डलर समेत म आफूले नै व्यहोर्छु । सो रकम नेपाल आएर काम गरेर तिर्नुपर्छ भनी टिकटको व्यवस्था गरेर नेपाल बोलाएकाले म निजको कुरामा सहमत भई ०९ फेब्रुअरी २०२३ मा फ्लाइ दुबई मार्फत नेपाल आएकी हुँ ।
एलिजावेथ केजावुः
उनी पनि युगान्डाकै साथी मार्फत नतासालाई चिनिन् र ह्वाट्सएपबाट कुराकानी भएर नेपाल आएकी हुन् । उनले आफ्नो बयानमा अदालत समक्ष भनेकी छन्– निज नतासाले आफू नेपालमा रहेको र नेपालमा आई वेश्यावृत्तिको काम गर्दा एकजना ग्राहक बराबर दुई हजार नेपाली रुपैयाँसम्म कमाउन सकिने जानकारी गराई नेपाल आउने हो भने नेपालसम्म आएको हवाई टिकट र भिसा लगायतको खर्च वापतको पाँच सय अमेरिकी डलर तत्कालको लागि निज नतासाले नै व्यहोर्ने पछि नेपालमा आई पैसा कमाई गरे पछि नतासाले खर्च गरेको रकम मैले व्यहोर्नु पर्ने कुरा बताएकीले म निजको कुरामा सहमत भई ०२ फेब्रुअरी २०२३ मा फ्लाई दुवई मार्फत नेपाल आई पुगेको हुँ ।’
जातुनी बाकुम्बाः
उनले आफ्नो बयानमा नतासासँग युगान्डामै चिनजान भएको बताएकी छन् । उनले पनि नतासासँग ह्वाट्सएपमै कुराकानी गरेकी हुन् । जातुनीले जिल्ला अदालततका न्यायाधीशसमक्षको बयानमा भनेकी छन्– नतासासँग कुराकानी हुँदा निजले आफू नेपाल जान लागेको र नेपालमा गई वेश्यावृत्तिको काम गर्दा राम्रो कमाई हुने कुरा बताएकीले मैले नेपाल जानका लागी आवश्यक पर्ने पैसा नभएको कुरा बताउँदा निजले नै मलाई ०६ अक्टुबर २०२२ मा नेपाल जानका लागी टिकट काटिदिएको हुन । यसरी नतासा र म नेपाल आएपछि निज नतासाले नै काठमाडौंको ठमेलमा खोजेको ‘होटल जर्नी होम’ मा लगि मलाई आफूसँगै राखेकी हुन । सो होटलमा वेश्यागमनका लागि आउने ग्राहकहरुसँग जाहेरवाला पीडित युवती तथा प्रतिवादी नतासाले वेश्यावृत्तिको काम गर्ने गरेका थिए ।’
राष्ट्रिय ख्यातीमा दखलः न्यायाधीश
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालले ०८० चैत ५ गते फैसला गर्दै यस घटनाले राष्ट्रिय ख्यातीमा दखल पुग्ने ठहर गरेका हुन् । जिल्ला अदालतले युगान्डाकी नतासा भनिने इम्माकुलेट नाबासुम्बालाई १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो । साथै, पीडित युवतीलाई भने ८० हजार क्षतिपूर्ति भराउनसमेत आदेश भएको छ । काठमाडौं जिल्ला अदालतको फैसलामा ‘प्रतिवादी नतसाले नेपाल आई वेश्यावृत्ति जस्तो कार्यमा लगाउने, लगाउन उत्प्रेरित र दवाव प्रभाव समेत दिने गरेको भन्ने समेतको अवस्था देखिएको र त्यस्तो कार्यबाट अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय छवीमा आँच आउने समेतको अवस्था रहेको’ उल्लेख छ ।
‘विदेशी मुलुकहरुमा समेत नेपालमा वेश्यावृत्तिमा संलग्न हुन र गराउन सहज रहे भएको सन्देश जाने गरेको कुरा मिसिल सम्लग्न प्रतिवादीले अदालतमा गरेको वयान तथा निजहरु मार्फत आएका यूगाण्डीयन नागरिकहरु समेतको मौकाको कागज, निजहरुका बीचमा भएका कन्भरसेसन समेतबाट देखिन आउँछ,’ फैसलाको पूर्णपाठमा भनिएको छ– ‘नेपालको विद्यमान कानून र व्यवहारमा देखिएको यस प्रकारको पार्थक्यताबाट अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय ख्यातीको प्रवर्धनमा देखा पर्न सक्ने नकरात्मक प्रभाव ठूलो चासो र चिन्ताको विषय हो । यस्ता कार्यलाई निरुत्साहित गर्दै कानूनको पालनामा सम्बन्धित सबै प्रतिवद्द पनि हुनु अत्यावश्यक पनि छ ।’
नतासा ०७९ साल फागुन १५ गते पक्राउ परी सोही दिनदेखि थुनामा छिन् । फौजदारी मुद्दाका घटनामा दोषी हो वा होइन भनेर फैसला हुन्छ भने त्यसैको महिना दिनभित्रमा सजाय निर्धारण गर्नुपर्ने व्यवस्था । त्यसैले यो मुद्दाको सजाय निर्धारण भने २०८१ साल वैशाख ४ गते भएको थियो ।
रेडलाइट तोक्ने एमालेको त्यो बहस
एमाले नेता तथा संघीय सरकारका सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी सरकारको तत्कालीन मुख्यमन्त्री हुँदा ‘रेड लाइट एरिया’ खोल्नुपर्ने बताएका थिए । त्यसको चौतर्फी विरोध भएको थियो । त्यतिबेला गुरुङले पोखरामा आयोजित एक कार्यक्रममा यौन धन्दा खुलेआम मौलाएकाले यसको व्यवस्थापन नहुँदा समाजलाई हानि मात्र पुग्ने भएकाले रेड लाइट एरिया खोल्नुपर्ने भनेर धारणा राखेका थिए ।
०७५ साल भदौ ३१ गते प्रतिनिधि सभाकी तत्कालीन सांसद चन्दा चौधरीले संसदमा मुख्यमन्त्रीबाट राजीनामा दिन भन्दै भनेकी थिइन्, ‘मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘रेडलाइट एरिया खोल्नुपर्छ’ भनेर महिला अस्मितामाथि प्रहार गर्नु भएको छ ।’
नेपालको आधिकारिक तथ्यांकमा यौनकर्मीहरूको वास्तविक संख्या कति छ भन्ने पत्ता लगाउन मुश्किल छ तर एनसीएसीको सन् २०१६ को तथ्यांक अनुसार नेपालमा ५६ हजार यौनकर्मी छन् भने, अर्को अनौपचारिक अध्ययनले यौनकर्मीको संख्या झन्डै ४ लाख छ ।
प्रतिकृया दिनुहोस