फरार एमाले सांसद प्रधानमन्त्री ओलीसँगै अतिथिः प्रहरी हेरेको हेर्यौ

बुटवल । कांग्रेस–एमाले नेतृत्वकाे सरकारले सुशासनकाे कुरा गरेपनि व्यवहार भने फरक देखिएकाे छ ।
नेपाल प्रहरीको फरार सूचीमा रहेका नेकपा एमालेका प्रदेश सांसद प्रधानमन्त्री केपी शर्मा ओलीसँगै कार्यक्रममा देखिएका छन्।
लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थी सोमबार लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सँगै अतिथिका रुपमा सहभागी भएका हुन्। उनी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (क) बाट विजयी एमाले सांसद् हुन्।
उनलाई १० महिना पहिले नै पक्राउ गर्न अदालतबाट अनुमति लिइसकेको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पनि पक्राउ गरेर बुझाइदिन भनेको थियो। तर प्रधानमन्त्रीकै दलका सांसद पन्थी खुलेआम हिँडिरहेका छन्।
काठमाडौँको गौतमबुद्ध हाइड्रोपावर कम्पनीका सञ्चाकसमेत रहेका पन्थी र देवराज खनालविरुद्ध उजुरी परेको थियो। उक्त उजुरीमा अनुसन्धान गर्नका लागि प्रहरीले पन्थीलाई पनि पक्राउ गर्न अन्य कार्यालयबाट सहयोग मागेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट पक्राउ पूर्जी जारी भएपछि पन्थीलाई पक्राउ गरिदिनका लागि प्रहरी प्रधान कार्यालयसँगै जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकूमा पनि पत्र पठाएको थियो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पठाएको पत्रमा पनि यी कार्यालयलाई वोधार्थ दिइएको छ। सांसद पन्थी र देवराज खनाललाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रालिले विद्युतीय सामग्री लगेर रकम नतिरेको आरोप छ।
तर आरोपित सांसद शक्तिको आडमा खुलेआम हिँड्दा प्रहरी निरीह देखिएकाे छ।
प्रदेशसभा सदस्य पन्थी प्रदेशसभा बैठकमा नियमितजसो पुगिरहन्छन् । सार्वजनिक कार्यक्रममा पनि सक्रिय छन्। तर एक वर्षयता उनीविरुद्धको पक्राउ पुर्जी भने प्रहरी कार्यालयमा घुमेको घुम्यै छ।
जिल्ला अदालत मोरङबाट जारी भएको पक्राउ पुर्जी जिल्ला प्रहरी परिसर काठमाडौं, अपराध अनुसन्धान तथा कारबाही शाखा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीसहित मातहतका सबै प्रहरी युनिटमा पुगेको छ । तर राजनीतिक पहुँचका आधारमा उनी प्रहरीको नजरमा परेका छैनन् ।
प्रतिकृया दिनुहोस