• २०८२ जेठ २ बिहीबार
  • Thursday, 15 May, 2025

सन्दीप लामिछाने किन क्यानको सम्झौतामा बस्न चाहेनन् ?

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा स्टार बलर सन्दीप लामिछानेले क्रिकेट एशोसियशन अफ नेपाल क्यानको सम्झौता मातहत नबस्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा लामो स्पस्टिकरण लेख्दै उनले यसको मतलव नेपाली राष्ट्रिय टिम वा क्रिकेटबाट टाढा जाने खोजेको भने नभएको बताएका छन् । क्रिकेट करिअरलाई थप अघि तर व्यक्तिगत रुपले बढाउनका लागि क्यानको सम्झौतामा बाँधिन नचाहेको उनको भनाई छ । 

उनले नेपाली टोली आइसिसी विश्वकप लिग-२ का लागि युके जानुअघि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू क्यानको केन्द्रीय सम्झौतामा नरहने बताएका हुन्। उनले निरन्तर सहयोगका लागि क्यानलाई धन्यवाद दिएका छन्। 

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा रहेका ३३ पुरुष खेलाडीमध्येका एक हुन्। उनी ‘ए’ ग्रेडमा रहेका पाँच खेलाडीमा रहेका थिए। यो ग्रेडका खेलाडीको तलब मासिक एक लाख रूपैयाँ छ। 

ग्रेडमा सन्दीपसहित रोहितकुमार पौडेल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र आशिफ शेख छन्।

पछिल्लो समय क्यानप्रति सन्दीप सन्तुष्ट भने छैनन्। उनले आफू असन्तुष्ट भएको संकेत दिने खेलका पोस्टहरु गर्दै आएका थिए। 

गएको माघमा उनलाई क्यानले अनुशासनको कारबाही गरेको थियो। क्यानको आचारसंहिताविरूद्ध फेसबुकलगायत सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई तीन डिमेरिट अंक दिने निर्णय गरेकोथियो। यसको अर्थ क्यानले आयोजना गर्ने प्रतियोगितामा लामिछानेलाई एक खेल खेल्नबाट प्रतिबन्ध गरिएको हो। तर त्यसपछि उनले कुनै पनि घरेलु क्रिकेट खेलेका छैनन्। 

म्याच रेफ्री र टेक्निकल कमिटीको निर्णयअनुसार उनलाई कारबाही गरिएको थियो। उनले क्यानको आचारसंहिताको २.७ को उल्लङ्घन गरेको पाइएकाले खेलमा प्रतिबन्ध (तीन डिमेरिट अंक दिने) लगाउने निर्णय गर्दै स्पष्टीकरणसमेत सोधिएको थियो

सन्दीपले माघ पहिलो साता सकिएको जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लेखेका थिए।

संसारभरका फ्रेञ्चाइज क्रिकेट लिग खेलेर चर्चा कमाएका सन्दीपले गत वर्षको जेठमा उच्च अदालत पाटनबाट बलात्कार कसुरमा सफाइ पाएका थिए।

त्यसअघि २०८० को पुसमा भने जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो।

उच्च अदालतबाट सफाइ पाएपछि क्रिकेटमा आफ्नो पुरानो लय फर्काउने कोसिसमा रहेका सन्दीपले मैदानमा राम्रो प्रदर्शन गर्न सकेका छैनन्।

नेपाल प्रिमियर लिग (एनपिएल) मा उनले विराटनगर किंग्सको कप्तानी गरेका थिए।  

गत माघमा लामिछानेको अप्रेसन गरिएको थियो। उनको राइट डाइरेक्ट इङ्गुइनल हर्नियाको टोटल एक्स्ट्रा पेरिटोनियल (मास रिपेयर) गरिएको थियो। त्यसपछि आराम गरेका सन्दीपले नयाँ प्रशिक्षक स्टुअर्ट लले सञ्चालन गरेको कोर क्याम्पमा राम्रो प्रदर्शन गरेका थिए भने चार टोलीमध्ये एकको कप्तानी गरेका थिए। 

पूर्वकप्तान सन्दीपलाई पनि यसपटक कुनै नेतृत्वको भूमिका दिइएको छैन।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर