लिग-२ सिरिज खेल्ने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

काठमाडाैं । स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज र युके भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक कार्यक्रम गर्दै नेपाली टोलीको बिदाइ गरेको हो।
स्कटल्यान्ड सिरिजअघि नेपालले बेलायतमा ५ खेल खेल्नेछ। 'राइनोज टुर अफ युके' भ्रमणका क्रममा नेपालले ओडीआई र टी–२० खेल खेल्नेछ।
नेपालले पर्सि शुक्रबार कार्डिफ विश्वविद्यालयसँग कार्डिफमा पहिलो एकदिवसीय खेल खेल्ने तालिका छ। १९ मे मा मेरिलबोन क्रिकेट क्लब (एमसीसी) सँग हेरेफोर्डशायरमा दोस्रो एकदिवसीय खेलखेल्ने तालिका छ।
आइसिसी विश्वकप लिग-२ मा अहिले नेपाल दबाबपूर्ण स्थितिमा छ। आठ टोली सहभागी लिगमा नेपाल अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ।
नेपालले १२ खेल खेल्दा केवल २ खेलमा मात्र जित निकाल्न सकेको छ। नेपालको ६ अंक मात्र छ। अंक तालिकाको पुछारमा रहेको युएईको पनि ६ अंक छ। रनरेटमा युएईलाई नेपालले पछि पारेको स्थिति छ।
लिग-२ को शीर्ष चारमा रहेर एकदिवसीय मान्यता जोगाउन नेपालका लागि सन् २०२५ का तीन वटा सिरिज महत्वपूर्ण छ।
नेपाली टोलीले वैशाख ३१ देखि जेठ १२ गतेसम्म इंग्ल्यान्डमा अभ्यासका क्रममा स्थानीय क्रिकेट क्लब र एमसिसीसँग अभ्यास खेलसँगै ट्रेनिङ क्याम्पमा समेत सहभागिता जनाउनेछ।
त्यसपछि स्कटल्यान्ड जाने नेपालले त्यहाँ स्कटल्यान्ड ए टोलीसँग दुई वटा अभ्यास खेल्नेछ।
नेपालले लिग-२ अघि कुल ६ वटा अभ्यास खेल खेल्ने कार्यक्रम छ।
लिग-२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी-२० सिरिज पनि खेल्नेछ।
लिग-२ को खेल जेठ १९ देखि हुनेछ भने टी-२० सिरिज असार २ देखि सुरु हुनेछ।
यो भ्रमणलाई नेपाली टोलीका नयाँ प्रशिक्षक स्टुअर्ट लले पनि महत्वपूर्ण भएको बताएका छन्।
प्रतिकृया दिनुहोस