अमेरिकी पूर्व राष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ । जुन क्यान्सर हड्डीमा समेत फैलिएको छ।
आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमा बाइडेनको कार्यालयले शुक्रबार उनलाई क्यान्सरको निदान गरिएको जानकारी दिएको हो।
उनले गत हप्ता पिसाब सम्बन्धी समस्या देखिएपछि चिकित्सकसँग जाँच गराएका थिए।
८२ वर्षका बाइडेनलाई ग्लीसन स्कोर ९ रहेको आक्रामक प्रकारको प्रोस्टेट क्यान्सर भएको बताइएको छ। क्यान्सर रिसर्च यूकेका अनुसार यो स्कोरले क्यान्सर छिटो फैलिन सक्ने संकेत दिन्छ।
उनको परिवारले अहिले विभिन्न उपचार विकल्पहरूमाथि विचार गरिरहेको छ। विज्ञप्तिमा भनिएको छ कि क्यान्सर हर्मोन संवेदनशील भएकोले यसलाई व्यवस्थापन गर्न सकिने सम्भावना रहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेख्दै आफू र श्रीमती मेलानिया ट्रम्प बाइडेनको स्वास्थ्य अवस्था थाहा पाउँदा दुखी भएको जनाएका छन्।
जो र उनको परिवारलाई छिटो र सफल उपचारको शुभकामना व्यक्त गर्छौं, उनले भनेका छन । पूर्व उपराष्ट्रपति कमला ह्यारिसले आफू र श्रीमान डग एमहफ बाइडेन परिवारको लागि प्रार्थनामा रहेको बताएकी छन ।
यो चुनौतीलाई शक्ति, धैर्यता, र आशावादका साथ बाइडेनले सामना गर्ने ह्यारिसले भनेकी छन । स्वास्थ्य र उमेरका कारण बाइडेन २०२४ को राष्ट्रपति चुनावबाट पछि हटेका थिए। उनी अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध राष्ट्रपति हुन्।
त्यसबेला डेमोक्र्याटिक उम्मेदवारका रूपमा पुनः निर्वाचनका लागि प्रतिस्पर्धा गरिरहेका बाइडेनले जुन महिनामा ट्रम्पसँगको टेलिभिजन बहसमा कमजोर प्रदर्शन गरेपछि आलोचना झेलेका थिए ।
प्रतिकृया दिनुहोस