• २०८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025

यसअघि 'ओलीले रोकिदिएको' चीन भ्रमणमा जाँदै पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालको राजनीतिमा सक्रियता बढाईरहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी देश चीन भ्रमणमा जाने भएकी छन् । 
चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी जेठ १० गते चीन भ्रमणमा जान लागेकी हुन्।

पूर्वराष्ट्रपति भण्डारीसँग नेकपा (एमाले) का केही नेताहरू पनि रहने उनकाे सचिवालयका एक सदस्यले समाचार दैनिकलाइ जानकारी दिए । भ्रमण टाेलीमा पूर्व राष्ट्रपति भण्डारीकाे छाेरी उषाकिरण लगायत हुनसक्ने तर टुंगाे लागिनसकेकाे सचिवालयले बतायाे ।

पूर्वराष्ट्रपति भण्डारी चीनमा एक साता रहने र त्यसक्रममा उनले केही राजनीतिक भेटघाटसमेत गर्ने ती नेताको भनाइ छ।

चीन र नेपालबीचकाे सम्बन्ध, नेपालमा कम्युनिष्ट पार्टीहरूबीचकाे सम्बन्ध र एकता तथा सहकार्यकाे सम्भावना, चिनियाँ कम्युनिष्ट पार्टी र एमालेकाे सम्बन्ध तथा सहकार्य लगायत विषायमा छलफल हुनसक्ने उनी निकटकहरू बताउँछन् ।

पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारीले देशभित्र पनि विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै सक्रियता बढाएकी छन्। कतिपयले उनी सक्रिय राजनीतिमा फर्कने रूपमा पनि यो सक्रियतालाई बुझेका छन्।

दुई पटक राष्ट्रपति भएकी उनकाे राष्ट्रपति कार्यकाल पूरा भएपछिको यो पहिलो विदेश भ्रमण हो।

यस अघि गत सेप्टेम्बरमा पनि उनकाे चीन भ्रमणकाे चर्चा भएकाे थियाे ।  उनकाे राष्ट्रपतिकाे दाेस्राे कार्यकाल २०७६ सालमा भने उनले चीन भ्रमण गरेकी थिइन । उनकै कार्यकालमा चिनयाँ राष्ट्रपति सी चिनफिङले पनि नेपाल भ्रमण गरेका थिए । सीले सन् २०१९ अक्टाेबरमा नेपाल भ्रमण गरेका थिए ।

त्यसपछिकाे सम्भावित भ्रमण भने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी अेालीले त्यसबेला भण्डारीकाे चीन भ्रमण नचाहेका कारण राेकिएकाे एमाले बृत्तमा चर्चा हुने गरेकाे छ । 

भण्डारीकाे चीन भ्रमण पछि एमाले राजनीतिमा उनकाे सक्रियता र प्रभाव बढ्ने र त्यसले नेपालका कम्युनिष्टहरूबीचकाे एकता तथा सहकार्यकाे वातावरण बनाउने कतिपयले अनुमान पनि गरेका छन् ।

माअेावादी अध्यक्ष प्रचण्डले एमाले नेतृत्वमा केपी अेाली रहुन्जेल सहकार्यकाे सम्भावना नरहेकाे बताएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर