• २०८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025

राजावादी आन्दोलनलाई रास्वपाले देखाईदियो रातो बत्ती

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आफूहरू राजसंस्थाको पक्षमा नरहेको स्पष्ट पारेका छन्। राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सहकार्यका लागि पत्र पठाएपछि अर्यालले यस्तो बताएका हुन्।

पत्र पठाउनुअघि सुवेदीले अर्याललाई भेट्न खोजेका थिए तर, अर्यालले नभेट्ने बताएपछि सुवेदीले पार्टी मुख्यालय वनस्थली च:मति पत्र पठाएका हुन्। 

पत्रमा सुवेदीले रास्वपा पनि वर्तमान व्यवस्थासँग खुसी नभएको आफ्नो बुझाइ रहेको उल्लेख गरेका छन्। रास्वपा सभापति रवि लामिछानेको बुझाइ पनि त्यही भएको आफूले बुझेको उनले उल्लेख गरेका छन्। 'तपाईंको पार्टीका सभापति रवि लामिछानेज्यूले पनि हालको व्यवस्थाअन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा शङ्का व्यक्त गर्नुभएको तथ्य सर्वविदितै छ,' सुवेदीले पत्रमा उल्लेख गरेका छन्।

वर्तमान व्यवस्था परिवर्तन आजको ऐतिहासिक कार्यभार रहेको समेत सुवेदीले पत्रमा उल्लेख गरेका छन्। वर्तमान व्यवस्थाले जनताको सुशासन र समृद्धिका अपेक्षा पूरा गर्न नसक्ने भन्दै उनले प्रस्ताव गरेका छन्, 'आउनुहोस्, यो चरम दलीयकरण र अव्यवस्थाको अन्त्य गरी राष्ट्रिय पहिचान, न्याय, धर्म र लोकतन्त्र पुनर्स्थापित गर्ने हाम्रो साझा लक्ष्यका लागि संयुक्त रूपमा अघि बढौँ। संवैधानिक राजसंस्था, सनातन हिन्दूराष्ट्र, बहुदलीय प्रजातन्त्र पुनर्स्थापना गरौँ।'

तर, अर्यालले भने रास्वपा राजसंस्थाको पक्षमा नरहेको स्पष्ट पारेका छन्। 'रास्वपा राजसंस्थाको पक्षमा छैन,' उनले भने, 'सहकार्य कसरी हुन्छ उहाँहरूसँग ? हुँदै हुँदैन नि।'

त्यसो त रास्वपा गणतन्त्र र राजसंस्था दुबै कित्तामा स्पष्ट नखुलेको पार्टी हो। आवश्यक परे निर्णय लिने तर, अहिले नबोल्ने भन्दै आएको रास्वपालाई सुवेदीले पत्रमार्फत राजावादी आन्दोलनका लागि सहकार्यको प्रस्ताव पठाएका हुन्।

कतिपय रास्वपा नेताहरूले आफ्नो तहबाट गणतन्त्रको पक्षमा वकालत गरिरहेका छन्। तर, रास्वपाले संस्थागत रूपमा भने बोलेको छैन। गणतन्त्रको पक्षमा नखुल्दा रास्वपाका प्रति आलोचना हुने गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर