• २०८२ जेठ १० शनिबार
  • Saturday, 24 May, 2025

आइपीएलः हैदराबादसँग आरसीबीकाे नमिठो हार

एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लाई इन्डियन प्रिमियर लिग क्रिकेटको क्वालिफायर १ मा पुग्ने लक्ष्यमा नमिठो धक्का लागेको छ । यसअघि नै प्लेअफमा पुगिसकेको आरसीबी शुक्रबार सनराइजर्स हैदराबादसँग ४२ रनले पराजित गर्‍यो ।

लखनउमा २ सय ३२ रनको लक्ष्य लिएर आएको आरसीबी १९.५ ओभरमा १ सय ८९ रनमै अलआउट भयो । कप्तान प्याट कमिन्सले ४ ओभरमा २८ रन खर्चेर ३ र इशान मालिङ्गाले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिएपछि आरसीबीले लक्ष्य भेट्न सकेन ।

आरसीबीका ओपनरद्वय विराट कोहली ४३ र फिल सल्ट ६२ रन बनाई आउट भए । कोहलीले २५ बल खेल्दै ७ चौका र १ छक्का तथा सल्टले ३२ बल खेल्दै ४ चौका र ५ छक्का प्रहार गरेका थिए । तर त्यसपछि मयंक अग्रवाल ११, रजत पाटिदार १८, कप्तान जितेश शर्मा २४, रामारियो सेफर्ड शून्य र टिम डेविड १ रनमा आउट भएका थिए ।

यसअघि इशान किशनको अविजित ९४ रनमा टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाई २ सय ३१ रन बनाएको थियो । पहिलो खेलमा शतक बनाएका किशनले त्यसपछि १ सय २५ रनमात्र बनाउन सकेका थिए । तर पछिल्लो इनिङ्सले किशनलाई ठूलो आत्मविश्वास प्रदान गरेको छ ।

किशनले ४८ बलको इनिङ्समा ७ चौका र ५ छक्का प्रहार गरे । अभिषेक शर्मा र ट्राभिस हेडले ४ ओभरमा ५४ रन जोडेर हैदराबादलाई तुफानी सुरुआत दिलाएका थिए । हेड १० बलमा ३ चौका प्रहार गरी १७ रनमा आउट भए । अभिषेकले १७ बल खेल्दै समान ३ चौका र छक्कासहित ३४ रन बनाए । हेनरिक क्लासेन १३ बलमा २४ र अनिकेत बर्मा ९ बलमा २६ रन बनाई आउट भए । आरसीबीका रोमारियो सेफर्डले २ विकेट लिएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर