शेखरको चुनौती: २ वर्षे कुलिङ पिरियड राखिन्छ, राजीनामा दिए हुन्छ

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती कर्मचारी विधेयकमा राखिएको दुई वर्षे ‘कुलिङ पिरियड’ राख्नै पर्ने आवश्यकता रहेको औँल्याएका छन्। शनिवार विराटनगरमा पत्रकारसँग कुरा गर्दै प्रस्तावित कुलिङ पिरियड लागु हुने दाबी गर्दै मन नपरे सरकारका सचिवले राजीनामा दिन चुनौती दिए।
‘दुई वर्ष कुलिङ पिरियड राख्नै पर्छ, राखिन्छ,’ कोइरालाले भने,‘उहाँ(सचिव)हरूले प्रेसर दिएर राजीनामा गर्छु भन्नुभएको छ । राजीनामा गरेर देखाउनुपर्यो नि पहिले ।’ कुलिङ पिरियडलाई लिएर अहिले काठमाडौंमा सरकारका मुख्यसचिव, संघीय संसद्का महासचिव र सचिवहरू हुल बाँधेरै शीर्ष नेतालाई दबाब दिइरहेका छन्।
उता नेता कोइरालाले कुलिङ पिरियड नहुँदा संवैधानिक नियुक्तिमा गलत प्रवृत्ति हाबी भएकाले त्यो राख्नै पर्ने बताए।
‘कोही निवृत्त भएको भोलिपल्ट भइराख्नुभएको छ। २२/२३ सचिवहरू संवैधानिक परिषद्मा हुनुहुन्छ। के देखाइरहेको छ यसले ? यो सचिवहरूको पोस्ट रिटायरमेन्ट क्लबजस्तो देखियो नि’, कोइरालाले भने।
प्रतिकृया दिनुहोस