• २०८२ जेठ १२ सोमबार
  • Monday, 26 May, 2025

ओलीको निर्देशन मानेन युवा संघले, थेवे दोहोर्‍याउन पेल्ने मुडमा संस्थापन

पोखरा ।  नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन शुक्रबारदेखि पोखरामा जारी छ । तर नेतृत्व चयन प्रकृया अन्याेलमा परेकाे छ ।  

सर्वसम्मतको प्रयास भइरहेको र सर्वसम्मत नेतृत्व चयन हुनेमा संस्थापनका नेताहरूकाे विश्वास छ । तर सुमन पुरीलगायत दाबेदारहरूले अडान छाेडेका छैनन् ।

निर्वाचन समितिले अध्यक्ष मण्डललाई शनिबार साँझ ६ बजेसम्मको समय दिएर सर्वसम्मतको प्रयास गर्न भनेको थियो । पूर्व अध्यक्षहरु भानुभक्त ढकाल, महेश बस्नेत र राजीव पहारी सदस्य रहेको समिति बनाइएकोमा उनीहरुले सर्वसम्मत नामावली दिन नसकेका हुन् । 

शनिबार राति ८ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने तालिका थियो । तर राति पौने १० बजे एकाएक निर्वाचन कार्यतालिका आइतबार बिहान ६ बजेसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।

साँझ ६ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेकामा त्यो पनि भएन । पदाधिकारीका दाबेदारले समर्थकको सहयोगमा शनिबार साँझदेखि प्रचार सुरु गरेका छन् । महाधिवेशन स्थल पोखरा सभागृहमा युवा संघका नेता-कार्यकर्ताले शनिबार साँझदेखि फरक-फरक पदका उम्मेदवारको पक्षमा मत माग्दै राति १० बजेसम्म नाराबाजी गरेका थिए ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अध्यक्ष क्षितिज थेबेलाई नै फेरि अध्यक्ष बनाउन चाहेका छन् । यसबाट अध्यक्षका दाबेदार उपाध्यक्षद्वय महाराज गुरुङ र कृष्णहरि पौडेल, महासचिव सुमन पुरीलगायत अन्य आकांक्षी असन्तुष्ट छन् । थेबेलाई पुनः अध्यक्ष बनाउने ओलीको आशय बुझेपछि गुरुङ र पौडेल पछि हट्ने मनस्थितिमा पुगेका छन् ।

स्रोतका अनुसार युवा संघका पूर्वाध्यक्ष महेश बस्नेत, राजीव पहारी, किरण पौडेल थेबेलाई पुनः अध्यक्ष बनाउन तयार छैनन् । थेबेको क्रियाशीलताले आफूहरू युवा संघबाट छायामा पर्ने बुझेर बस्नेत, पहारी र पौडेलले थेबेलाई अध्यक्ष बनाउन नचाहेको स्रोतको भनाइ छ । तर, ओलीको निर्देशनपछि उनीहरूले त्यसविपरीत कुनै कदम चाल्न सकेका छैनन् । पूर्वाध्यक्ष महेश-राजीवले वर्तमान उपाध्यक्ष गुरुङलाई अध्यक्ष बनाउन चाहेका थिए । थेबेलाई अध्यक्ष बनाउन ओलीको निर्देशनपछि गुरुङले अन्तिममा थेबेलाई समर्थन गर्ने र उपाध्यक्ष बस्ने नेताहरुलाई जानकारी गराइसकेका छन् ।

अध्यक्षका आकांक्षी सुमन पुरीले सर्वसम्मतको प्रयास भए पनि त्यो स्थिति नदेखिएको सुनाए । पुरीले निर्वाचन भएमा जित्ने र एकलौटी गर्न खोज्दा संगठन र पार्टीमा ठूलो संख्यामा असन्तुष्ट हुने सन्देश नेताहरुलाई दिएका छन् । त्यसैले अन्तिममा थेबे र पुरीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

मतदान हुने सम्भावना बढेपछि काठमाडौंबाट ४५ वटा भोटिङ मेसिन समेत तयारी अवस्थामा राखिएकाे छ । अधिवेशनमा १ हजार ८ सय प्रतिनिधि छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर