• २०८२ जेठ ११ आइतबार
  • Sunday, 25 May, 2025

'कम्बोडियामा मेरो ३२ अरब छ भन्ने ‘प्रचण्ड’, पछि लाग्ने माधव र झलनाथ'

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एमाले विभाजन गर्न भूमिका खेलेको आरोप लगाएका छन् ।

आइतबार एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेलाई अभिवाजित पार्टी रहन नदिन र नेपाललाई गरिखान नदिन विदेशी उद्देश्यको मतियार भएको टिप्पणी गरे । 

“तपाईँहरु पार्टीबाट निर्वाचित भएर जिम्मेवारीमा गएको हो । निर्वाचन जितेपछि चङ्गाको धागो काटिए जस्तो पार्टीसँगको सम्पर्क काटिनु हुँदैन । मैले जितेँ, मलाई अरु मतलव छैन भन्न मिल्दैन । अर्काे निर्वाचन पनि आउँछ । त्यसकारण तपाईँहरुले अहिले पार्टीका नीति, निर्देशनहरुलाई पालना गर्दै देश र जनताको सेवामा सक्रिय रहनुपर्छ ।”, प्रधानमन्त्री ओलीले भने, “यो पार्टी वास्तविक जनतन्त्रका लागि बनेको हो । देशको स्वाधीनता र भौगोलिक अखण्डताका पक्षमा दृढ भएर लाग्ने पार्टी हो । एमाले देशको नायक पार्टी हो । तथाकथित वामपन्थीहरु एमालेलाई धुलो चटाउँछु, टर्च लाइट बालेर खोज्न नभेटिने बनाउँछु भनेर अनेक षड्यन्त्रमा उत्रिए तर हामीले ती षड्यन्त्रहरु चकनाचुर बनाएर अगाडि बढेका छौँ ।”

प्रधानमन्त्री ओलीले आफूहरुले कम्युनिष्ट भनेर पार्टी एकता गरे पछि लगभग दुई तिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर एमालेको देश बनाउने अभियानलाई रोक्न खोजेको टिप्पणी गरे ।

“उनीहरु खासमा कम्युनिष्ट थिएनन् । उनीहरुले अरुको विरोध नगरी एमालेको मात्रै विरोध गर्छन् । अनि वामपन्थीको एकता हुनुपर्छ भनेर उनीहरुले भन्दा हाम्रा कतिपय साथीहरु हो कि भन्ने गलत बुझाइमा पर्छन् ।”, अध्यक्ष ओलीले भने, “कम्बोडियामा मेरो रु ३२ अरब लगानी छ भनेर हल्ला फिँजाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ हो । त्यसको पछि लाग्नेहरु माधव नेपाल र झलनाथ खनालहरु हुन् । माधव र झलनाथले पार्टी प्रमुख हुँदा प्रभावकारीरुपमा चलाउन सकेनन् । पछिसम्म पार्टी चाँही कब्जामा लिएर बस्न खोजे । हामीले निकम्बा, बेठिक र परनिर्भर नेतृत्व विस्थापन गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ पार्टीलाई अगाडि बढाउँदा त्यस्ताहरुलाई चित्त बुझेन  अनि हामीविरुद्ध षड्यन्त्रमा लागेका छन् । देशी विदेशी प्रक्रियावादीहरुले हामीलाई लडाउन खोजेका छन्, त्यसमा सजग भएर आपसी द्वन्द्व र खिचातानीका प्रवृत्तिमा हामी जान हुँदैन । यो कुरा हामीले जनतासमक्ष बुझाउनुपर्छ ।”

राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्वहरु सल्बलाउँदा एमालेहरुको मनोबल गिर्न नहुने उल्लेख गर्दै उनले लाज नमानीकन जनतालाई रैती हुन पाउँ भन्नेहरुले फैलाउने भ्रम चिर्न आग्रह गरे । अध्यक्ष ओलीले प्रतिगामीहरुले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा तयारी रहन पनि निर्देशन दिए ।

उनले क्रान्तिको नाममा विदेशबाट हतियार ल्याएर नेपाली जनता र टाउकोमा पड्काएको आरोप समेत लगाए । उनले माओवादीले युद्धकालमा फालेका बम पड्किएर अहिले पनि नागरिकले ज्यान गुमाउनु परिरहेको बताए । 

उनले भने, ‘देशमा क्रान्ति भनेर बाहिरबाट हतियार ल्याउने, बाहिरका हतियार, बाहिरका खरखजना, बाहिरकै तालिम, नेपाली जनताको टाउको र छातीमा पड्काएर छोडे । उतै बम बनाउन सिके, यता ल्याएर पड्काए । गुडिरहेको बसमा पड्काए । बुढाबुढी, बालबालिका भएका ठाउँमा पड्काए । तर गाह्रो पर्दा बेवारिसे छोडेर हिँडे । लुकाएर हिँडे । अहिले पनि तिनको असर ठाउँ ठाउँमा परिरहेको छ । अहिले पनि बेवारिसे छोडेका बमहरूका कारण बच्चाबच्चीको निधन भइरहेको छ ।”

प्रधानमन्त्री ओलीले विध्वंस मच्चाएको तत्त्वहरू वास्तवमा कम्युनिस्ट र वामपन्थी नभएको तर्क समेत गरे ।

“विचार गर्नुहोस् त । हाम्रो पार्टी नफुटेको भए, एक्लै हामी जुन ठाउँमा पुगेका थियौं त्यही ठाउँमा पुर्‍याएको भए । नेकपा (एमाले) अहिले पनि प्रमुख शक्तिको रूपमा आएको छ भने, सिध्यायौं एमालेलाई भन्दा फेरि सरकारको नेतृत्व गरिरहेको छ भने त्यो एमाले अभिवाजित पार्टी रहेको भए के हुन्थ्यो । तर उनीहरूले कुनै पनि हालतमा अभिवाजित पार्टी रहन नदिने र नेपाललाई गरिखान नदिने बाहिरी उद्देश्यका मतियार भएर उनीहरूले त्यस्ता कामहरू गरे ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर