• २०८२ जेठ २३ शुक्रबार
  • Friday, 6 June, 2025

विश्वकप क्रिकेट लिग २ः आज नेदरल्यान्ड्सविरुद्ध भिड्दै नेपाल

काठमाडौं । स्कटल्यान्डमाथि नेपालको जितबाट अमेरिका र नेदरल्यान्ड्सलाई पनि पक्कै खुसी दिएको हुनुपर्छ । विश्वकप क्रिकेट लिग २ मा अमेरिका र नेदरल्यान्ड्स शीर्ष  टोली हुन् ।

दुवैलाई स्कटल्यान्डले शीर्षस्थानमा कडा चुनौती दिइरहेको थियो ।

त्यही नेदरल्यान्ड्ससँग नेपालले बुधबार डन्डीमा दोस्रो खेल खेल्नेछ । नेदरल्यान्ड्सको यस लिग २ यात्रामा यो पहिलो खेल हो ।

नेपालले गत वर्ष घरेलु मैदानमा लिग २ को सुरुआत गर्दा १ खेलमा जित हात पारेको थियो भने अर्को खेलमा पराजित भएको थियो ।

नेपाली टोली डन्डीको कन्डिसनमा विस्तारै भिजिरहेको कप्तान रोहित पौडेलले बताएका छन् । ‘यो कन्डिसनमा खेल्न सोचे जस्तो गाह्रो छैन । ब्याटिङ गर्ने बेला त्यस्तो गाह्रो अनुभव भएन,’ रोहितले भने, ‘बलिङमा चाहिँ अझै सुधार गर्नुपर्छ, विशेष गरी पहिलो १० ओभरमा बढी रन गइरहे जस्तो अनुभव भइरहेको छ । यसमा हामी केही गृहकार्य गर्छौं र सुधार गरेर आउँछौं । डेथ बलिङ पहिलाभन्दा राम्रो भएको छ, अझ सुधार्न बाँकी छ ।’

अलराउन्डर बास डी लिडेबिनै नेदरल्यान्ड्स यस शृंखलामा उत्रने छ । अघिल्लो महिना नेदरल्यान्ड्समा स्कटल्यान्ड र यूएईविरुद्ध लिग २ को घरेलु शृंखला खेलेर उनी डरहमबाट काउन्टी क्रिकेट खेल्न इंग्ल्यान्ड पुगिसकेका छन् ।

नेपालले अस्ट्रेलियाका स्टुवार्ट लको प्रशिक्षणमा पहिलो आधिकारिक खेलमा सनसनीपूर्ण विजय हात पारेको हो ।

अस्ट्रेलियाका पूर्व ब्याटर एवं अमेरिकाका पूर्व प्रशिक्षक ल अघिल्लो महिना नेपालको प्रशिक्षक भएर आएका थिए । उनको पहिलो खेलमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो रन पछ्याउने कीर्तिमान बनाएको छ ।

‘हामी नेपालको ब्याटिङ नर्भस भएर हेरिरहेका थियौं, चौका–छक्का भइरहँदा जोसिएका पनि थियौं । सरले शान्त भएर बस्न भन्नुभएको थियो,’ कप्तान रोहितले प्रशिक्षक लबारे सुनाए ।

अस्ट्रेलियाबाट १९९६ को विश्वकप खेलिसकेका लकै प्रशिक्षणमा अमेरिका गत वर्ष घरेलु भूमिमा भएको ट्वान्टी–२० विश्वकपमा पाकिस्तान र आयरल्यान्डलाई उछिन्दै सुपर ‘एट’ मा पुगेको थियो । अमेरिकाले समूह चरणको खेलमा पाकिस्तानलाई सुपर ओभरमा हराएको थियो । सन् २००९ मा उनी श्रीलंका राष्ट्रिय टोलीको सहायक प्रशिक्षक थिए । त्यसपछि उनी २०११–१२ मा बंगलादेशको मुख्य प्रशिक्षक भए ।

स्कटल्यान्डमाथि विजय हात पारेपछि हौसिएका कुशल भुर्तेल पनि तयारी जसरी भएको छ, त्यस हिसाबमा सबै ४ खेल जित्न आफूहरू यहाँ आएको बताउँछन् ।

२ सय ९७ रनको लक्ष्य पछ्याएको नेपालले स्कटल्यान्डमाथि एक विकेटको अविश्वसनीय जित हासिल गरेको थियो । त्यसमा करण केसीले ६५ रनको अविजित इनिङ्स खेलेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर