नेदरल्यान्ड्सविरुद्ध नेपालकाे सहज जित, चम्किए आरिफ

काठमाडाैं । आरिफ शेखकाे अधर्सतकसहित ७८ रनकाे याेगदानका कारण नेपालले बलियाे नेदरल्यान्डसलाइ सजिलै हराएकाे छ ।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ।
स्कटल्यान्डको डन्डीमा बुधबार नेपालले नेदरल्यान्ड्समाथि ५ विकेटको जित निकालेको हो। नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा मध्यक्रमका ब्याटर आरिफ शेखले उत्कृष्ट ब्याटिङ गरे। धैर्यपूर्वक ब्याटिङ गरेका आरिफले अर्धशतक प्रहार गर्ने क्रममा ७८ रन बनाए। उनले ९९ बल खेलेर ७ चौका र २ छक्का प्रहार गर्दा नेपाल जिततर्फ अघि बढ्यो।
आरिफले दीपेन्द्रसिंह ऐरीसँग पाँचौ विकेटका लागि ८९ रनको साझेदारी गरे ।
दीपेन्द्रले नटआउट ३८ रन बनाए। उनले ५१ बलम ३ चौका प्रहार गरे। ४८औं ओभरको पहिलो बलमा विजयी छक्का प्रहार गरेका गुल्सन झाले ४ बलमा नटआउट ११ रन बनाए।
आरिफले ४०औं ओभरको अन्तिम बलमा छक्का प्रहार गरेपछि नेपाल विस्तारै जिततर्फ अघि बढेको थियो। सो छक्का नेपाल तथा आरिफले इनिङग्समा प्रहार गरेको पहिलो छक्का थियो।
त्यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेलले २५ रन र आसिफ शेखले १९ रन जोडे। दुईबीच पहिलो विकेटका लागि ६.२ ओभरमा ३२ रनको साझेदारी भयो।
आसिफ आउट भएपछि क्रिजमा आएका भीम सार्कीले ११ रन जोड्न सके। कप्तान रोहित पौडेल २३ रनमा रनआउट हुन पुगेका थिए।
बलिङमा नेदरल्यान्ड्सका माइकल लेभिटले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ४९.१ ओभरमा २२५ रनमा अलआउट भयो।
नेदरल्यान्ड्सका लागि तल्लो क्रमका ब्याटर नाओ क्रोइस ४८ रन बनाए। भान डेर मर्वी २१ रनमा रनआउट भए। नाओ र मर्वीबीच आठौं विकेटका लागि ६५ रनको साझेदारी हुँदा नेदरल्यान्ड्सलाई २ सय रन कटाउन सहज भएको थियो।
त्यसअघि नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्डले ७१ बलमा ४६ रन र जाच लियोनले २७ रन बनाए। विक्रमजिस सिहंले ३८ रनको योगदान दिए।
ओपनरद्वय माइकल लेभिट १ रन र म्याक्स ओ’डाउड ४ रनमा आउट भएका थिए। ओ’डाउडलाई करण केसीले बोल्ड गर्दा लेभिटलाई सोमपाल कामीले कप्तान रोहितकुमार पौडेलबाट क्याच गराएका थिए।
बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिन सफल भए। उनले ९.१ ओभरमा ४८ रन दिए। सोमपालले ३१ बल डट फ्याँक्दा ५ चौका दिएका थिए।
करण, सन्दीप लामिछाने र ललित राजवंशीले २-२ विकेट हात पारे। दुई विकेट मात्र लिए पनि करण केसीको इकोनोमी राम्रो रह्यो। उनले १० ओभरमा ३५ रन दिए भने ३७ बलमा कुनै रन दिएनन्। उनको इकोनोमी नेपाली बलरमध्ये सबैभन्दा राम्रो अर्थात् ३.५० रह्यो। स्कटल्यान्डविरूद्धको अघिल्लो खेलमा करणले अविश्वसनीय ब्याटिङ गर्दै ४१ बलमा नटआउट ६५ रन जोड्दा नेपालले एक विकेटको रोमाञ्चक जित निकालेको थियो।
खेलका लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको थियो। स्कटल्यान्डविरूद्ध टोलीमा रहेका तीव्र गतिका बलर रिजन ढकालको स्थानमा स्पिनर ललितनारायण राजवंशीलाई स्थान दिइएको थियो। यो परिवर्तन नेपालका लागि सही साबित भयो। ललितले महत्वपूर्ण दुई विकेट लिए भने ७ ओभरमा ३० रन खर्चिदा २२ बलमा त कुनै रन दिएनन्। उनले केबल एक चौका दिएका थिए।
यसअघि नेपालले सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डमाथि एक विकेटको रोमाञ्चक जित निकालेको थियो।
सिरिजमा सुरुवाती दुई खेलमा जित निकालेसँगै नेपालले १४ खेलबाट १० अंक जोडेको छ। अंक तालिकामा भने नेपाल पुछारबाट दोस्रो अर्थात् सातौं स्थानमा छ।
२० खेल खेलिसकेको अमेरिका २८ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ। २६ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो र ओमान २४ अंकसहित तेस्रो स्थानमा छन्।
चौथो स्थानको स्कटल्याण्डले २० अंक जोडेको छ। समान २० अंकसहित क्यानडा पाँचौं स्थानमा छ। नामिबिया १४ अंकका साथ छैटौं स्थानमा छ। पुछारको युएईकाे ६ अंक छ।
प्रतिकृया दिनुहोस