अहिलेसम्मकै धेरै डिपाेर्टेड नेपाली लिएर अमेरिकी चार्टर विमान आज नेपाल आइपुग्दै

काठमाडाैं । अमेरिकाले डिपाेर्ट गरेका ठूलाे संख्याका नेपाली लिएर अमेरिकी चार्टर विमान नेपाल आइपुग्दै छ ।
अध्यागमन कानुन विपरीत अमेरिका बस्दै आएका झण्डै ५० जना नेपालीलाई निष्कासन गरी विशेष चार्टड विमानमार्फत अमेरिकाले नेपाल फर्काएको स्रोतले जानकारी दिएको छ।
डिपोर्ट गरिएका नेपालीहरू आज दिउँसो ४ बजेतिर ढाका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुग्दै छन्।
काठमाडौंस्थित अमेरिकी दूतावासले केही दिन अगाडि अमेरिकाबाट निष्काशित हुन लागेका नेपालीको बारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको थियो।
एकैपटकमा अहिलेसम्मकै धेरै नेपालीलाई डिपोर्ट गरेर नेपाल फर्काएकाे हाे ।
डिपोर्ट गरिएकोबारे दूतावासमार्फत एक साताअगाडि नै जानकारी आएको थियेा।
त्यसरी डिपोर्ट गरिएकाहरुलाई अध्यागमनले नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाउँछ।
ब्युरोले उनीहरू कसरी अमेरिका पुगे, दलालबाट ठगिएका पीडितहरु पनि हुनसक्नेबारे सोधपुछ र परामर्श गर्छ।
ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले ४८ जना नेपालीहरू डिपोर्ट भएर फर्किन लागेको जानकारी प्राप्त भएको बताए।
ठगिएर अमेरिका पुगेका हुन् भने त्यस्ता व्यक्तिहरूले दलालहरूविरूद्ध पीडितले उजुरी दिएपछि ब्युरोले अनुसन्धान अगाडि बढाउँछ।
अमेरिकाका राष्ट्रपति ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । सुरक्षा जोखिमलाई कारण देखाउँदै उनले १२ देशका नागरिकलाई पूर्ण प्रतिबन्ध र अन्य ७ देशका नागरिकहरूलाई प्रतिबन्ध लगाउने ह्वाइट हाउसले जनाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पले अफगानिस्तान, चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, म्यानमार, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेका थिए।
सोमबारदेखि लागू हुने प्रतिबन्धको अतिरिक्त, बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका मानिसहरूमाथि कडा प्रतिबन्ध लगाइने बताइएको छ।
प्रतिकृया दिनुहोस