• २०८२ जेठ २५ आइतबार
  • Sunday, 8 June, 2025

देउवा–प्रचण्ड के भयो सहमति: विपक्षी दलको बैठकमा ब्रिफिङ गर्दै प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) लगायत विपक्षी दलहरूको बैठक आज (आइतबार) बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा आज मध्याह्न विपक्षी दलहरूको बैठक बस्ने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पनि समसामयिक राजनीति र प्रतिनिधि सभाको गतिरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक बोलाइएको जानकारी दिए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले प्रतिनिधि सभा अवरूद्ध गर्दै आएका छन्। विपक्षी दलहरूको अवरोधको कारण प्रतिनिधि सभामा बजेटमाथिको छलफलको कार्यसूची प्रभावित बन्दै आएको छ । 

यसैबीच सदन सञ्चालन गर्ने सन्दर्भमा प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए। सभापति देउवासँगको भेटमा अध्यक्ष प्रचण्डले विपक्षी दलहरूको बैठक बसेर भिजिट भिसा प्रकरणबारे छानबिन समिति बनाएर जाउँ भन्ने कुराकानी भएकोबारे जानकारी गराएका थिए।

‘विपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाएर जाऔं भन्ने कुराकानी भएको छ । विपक्षी दलहरूको बैठकमै कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरौं भन्ने कुरा आएको थियो । बैठकले कुराकानीको जिम्मा पनि मलाई नै दिएको थियो,’ अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले सुनाए ।

छानबिन समिति बनाउने विपक्षी दलहरूको प्रस्ताव सभापति देउवाले नमानेको आचार्यले बताए।

देउवाले भिजिट भिसा प्रकरणबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले संसदीय छानबिन छानबिन विशेष समिति आवश्यक नरहेको बताएका थिए। त्यसपछि विपक्षी दल रणनीति बनाउन थप छलफलमा जुट्न लागेका हुन् ।

देउवासँगको छलफलबारे प्रचण्डले आजको प्रतिपक्षी दलको बैठकमा ब्रिफिङ गर्ने जनाइएको छ। अब विपक्षी दल कसरी अघि बढ्ने भन्ने अहिले मध्याह्नमा संसद भवनमा बस्ने विपक्षी दलहरूको बैठकले तय गर्नेछ।

यसैबीच सभामुख देवराज घिमिरले संसद्को गतिरोध खुलाउने विषयमा प्रमुख तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका छन् । सभामुख घिमिरेले पौने १२ बजे कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख सचेतकसँग छलफल गर्ने भएका हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर