• २०८२ जेठ २६ सोमबार
  • Monday, 9 June, 2025

विपक्षीकाे निर्णयसहित नेताहरू कांग्रेससँगकाे छलफलमा

काठमाडाैं । विपक्षी दलहरूको बैठक सकिएको छ। माओवादी उपमहासचिव शक्ति बस्नेत छानबिन समिति गठनको सुनिश्चितता हुनुपर्ने निर्णयसहित कांग्रेस पदाधिकारीसँग छलफलमा जुटेका छन्।

छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक सहभागी छन्। 

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकको राजीनामाका विषयमा सत्ता र प्रतिपक्षी दलहरुको आ–आफ्नै अडानका कारण प्रतिनिधिसभा बैठक लगातार अवरोध हुँदै आएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसअघि संसद भवनमै विपक्षी दलहरूसँग छलफल गरेका थिए। त्यहाँ छलफल गरेर शंकर हलमा उनी कांग्रेससँग छलफलमा जुटेका हुन्।

विपक्षी दलहरुको बैठकमा प्रचण्डले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटबारे ब्रिफिङ गरेका थिए। 

उनले भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि कांग्रेस तयार नभएको ब्रिफिङ बैठकमा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताएका छन्। 

कांग्रेस सहमतिमा नआएको खण्डमा विपक्षी दलहरूको संसदमा आफ्नो स्ट्याण्ड कायम रहने निचोड बैठकले गरेको प्रमुख सचेतक परियारले बताए। 

यसअघि प्रमुख सचेतक र सभामुखबीचको बैठकमा पनि संसद चलाउने विषयमा सहमतिको प्रयास बिफल भएको थियो। सत्तापक्ष र प्रतिपक्षले आ-आफ्नो अडान नछाडेपछि प्रतिपक्षीलाई पेलेरै जाने तयारी सत्तापक्षले गरेको छ।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौलाले विपक्षीले सहयोग गरे पनि नगरे पनि संसद बैठक आजदेखि स्थगित नहुने बताएका थिए। 

आज दिउँसो १ बजे बोलाइएको बैठक विपक्षी दलहरूको छलफलका कारण अझै सुरु हुन सकेको छैन।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर