• २०८२ जेठ २८ बुधबार
  • Wednesday, 11 June, 2025

एमाले अखिलकाे नयाँ नेतृत्व चयनका लागि आजबाट निर्वाचन प्रक्रिया

काठमाडौं । काठमाडौंमा जारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ महधिवेशनकाे बन्दसत्रकाे कार्यक्रम अन्तर्गत आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदै छ । 

आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रले संगठनको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन समूहगत छलफल गरी पास गरेपछि आजबाट निर्वाचन प्रक्रिया अघि बढाउन लागिएको हो । 

महाधिवेशनको अध्यक्ष मण्डलका सदस्य एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलका अनुसार आज बिहान ८ बजे बन्दसत्रको बैठक सुरु गरेर निर्वाचन प्रक्रिया अघि बढाइएकाे छ । 

अधिवेशनको हलले १ सय ५१ सदस्सीय केन्द्रीय कमिटी, ९ जना पदाधिकारी र ३२ वर्षे उमेर हदलाई अनुमोदन गरिसकेको छ । यसै गरी यस अघिका आयोगमा एउटा आयोग थप गरी अनुशासन, लेखा र नीति तथा अनुगमन आयोग बनाइने भएको छ । नीति तथा अनुगमन आयोग यो महाधिवेशनबाट थप भएको हो । 

आयोग पदाधिकारी सहित १३ सदस्सीय हुने भएका छन् । जसमा प्रमुख, उपप्रमुख र सचिव पदाधिकारी हुने छन् । 

अनेरास्ववियुको सचिवालय ४९ सदस्सीय हुने भएको छ । सचिवालय सदस्य पनि हलले नै चुन्ने भएको छ । केन्द्रीय सदस्य प्रदेश क्लष्टरबाट चुनिने भएका छन् ।

नयाँ अध्यक्षका लागि यस अघिका पाँच जना सचिवहरू प्रकाश पौडेल, दीपक धामी, डा. सुजन कडरिया, अञ्जना शिवाकोटी र आरती भण्डारीबीच प्रतिस्पर्धा हुने तयारी छ । 

अध्यक्षक केपी ओलीले अनेरास्ववियुमा सर्वसम्मत नेतृत्व चयनको सन्देश दिएका छन् । जेठ २५ देखि सुरु हुने महाधिवेशनलाई लक्षित गर्दै बालुवाटारमा आयोजित भेटमा ओलीले सङ्गठनभित्र सहमतिको आधारमा नयाँ नेतृत्व चयन गर्न निर्देशन दिएका हुन् । 

जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालको नेतृत्वमा बालुवाटार पुगेका पूर्वअध्यक्षहरु माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, ऐन महर, सुनिता बरालसहित वर्तमान पदाधिकारीहरूलाई अध्यक्ष ओलीले अनेरास्ववियुले नेतृत्व सहमतिमै चयन गर्न सुझाव दिएका थिए । 

अनेरास्ववियुले क्याम्पस कमिटीका अध्यक्षहरू २८ वर्षभन्दा मुनिका नै चयन गरिसकेको छ। त्यस्तै २३ औं राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्यहरू पन ३० वर्षभन्दा मुनिका नै मनोनीत गरेको थियो। पदाधिकारी तहमा ३२ वर्षे उमेरहद भने पहिलोपटक लगाउन लागिएको हो। 

माअेावादीकाे विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भने ३२ वर्षे उमेरहद लागू गरिरहेकाे छ । एमाले अखिलले पनि साेही नीति पछ्याएकाे हाे ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर