• २०८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025

इजरायल–इराक युद्धः अमेरिका सहयोग बढाउँदै, इरान आक्रमण बढाउँदै

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाले इजरायललाई ठुलो सहयोग गरेको बताएका छन् । 

बिहीबार इरानी आक्रमणबाट प्रभावित सोरोका अस्पताल बाहिर पत्रकारसँग कुरा गर्दै अमेरिका इजरायललाई ठुलो सहयोग गरिरहेको बताएका हुन् ।

द गार्जियनलाई उद्धृत गर्दै एनबीसी न्यूजले प्रकाशित गरेको समाचार अनुसार नेतन्याहुले भने, “अमेरिका पहिले नै धेरै सहयोग गरिरहेको छ, किनभने उनीहरूले इजरायल र यसको सहरहरूको आकाशको रक्षा गर्नमा भाग लिइरहेका छन्।”

साथै नेतान्याहुले अमेरिकी राष्ट्रपतिसँग दैनिक संवाद हुने गरेको समेत बताएका छन् । उनले थपे, “राष्ट्रपति ट्रम्पसँग मेरो दैनिक संवाद हुन्छ र हाम्रो साझेदारी अविश्वसनीय छ।”

उता अमेरिकाले भने यसबारे निर्णय गरिसकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्ने भएका छन् । 

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबिचको सङ्घर्षमा अमेरिका संलग्न हुने कि नहुने भन्ने निर्णय आगामी दुई साताभित्र लिनेछन्।

पत्रकारहरूसँग कुरा गर्दै लेभिटले ट्रम्पको भनाइ उद्धृत गर्दै भनिन्, “इरानसँग वार्ता हुने सम्भावना हेरेर म दुई साताभित्र निर्णय गर्छु कि अमेरिका यसमा सामेल हुने कि नहुने।” 

यसैबीच तेल अवीवस्थित नर्वेका राजदूतको निवासमा विस्फोट भएको नर्वेजियन विदेश मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार, ‘घटनामा कुनै पनि कर्मचारी घाइते भएका छैनन्’ र उनीहरूले राति दूतावाससँग सम्पर्कमा रहेको बताएका छन्। विस्फोटको कारण भने खुलाइएको छैन।

इजरायली विदेश मन्त्री गिडोन सारले एक्समा नर्वेजियन राजदूत पेर एगिल सेल्वागसँग कुराकानी भएको बताएका छन्। उनले राजदूत निवासको बगैँचामा ग्रिनेड हानिएको बताए र यसलाई ‘गम्भीर आपराधिक घटना’ भन्दै निन्दा गरेका छन्।

एक नर्वेली पत्रिकाका अनुसार, सुरक्षा चिन्ताका कारण सोमबारदेखि तेल अवीवस्थित नर्वेजियन दूतावास बन्द गरिएको छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर