• २०८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025

इजरायल–इरान युद्धः इरानको सेजिल क्षेप्यास्त्रकाे किन हुँदैछ चर्चा ?

राष्ट्रपति भन्छन्ः सत्रु पछुताउनेछन्

एजेन्सी । इजरायल र इरानबीचको द्वन्द्व दुवै देशको युद्ध क्षमता र हतियारको परीक्षण हो।

बुधबार राति इजरायलमा आक्रमण गर्दा इरानले पहिलो पटक आफ्नो स्वदेशी सेजिल क्षेप्यास्त्र प्रयोग गरेको दाबी गर्‍यो । सेजिल भारी र लामो दूरीको क्षेप्यास्त्र हो। जसमा ठूलो वारहेड क्षमता हुन्छ।

यद्यपि, इजरायल रक्षा बलले सेजिललाई सफलतापूर्वक रोकेको इजरायलको दाबी छ। यो क्षेप्यास्त्र इरानको नातान्ज शहरबाट प्रहार गरियो भने केवल सात मिनेटमा इजरायलको राजधानी तेल अभिभ पुग्न सक्छ। नातान्जबाट तेल अभिभको दूरी करिब २००० किलोमिटर छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी)ले बुधबार राति अबेर भएका आक्रमण ‘अपरेशन ट्रु प्रमिस ३’ अन्तर्गत गरिएको बताएको छ। यो आक्रमणपछि सेजिल मिसाइलको बारेमा छलफल तीव्र भएको छ।

जुन १९ बिहीबार भारतस्थित इरानी दूतावासले आईआरजीसीलाई उद्धृत गर्दै सेजिल क्षेप्यास्त्रको बारेमा जानकारी दिएको छ।

इरानी दूतावासले सामाजिक सञ्जाल एक्समा लेखेको छ,‘यो अपरेशन ‘ट्रु प्रोमिस ३’ को बाह्रौं प्रतिशोधात्मक हमला हो। जुन धेरै भारी र लामो दूरीको दुई चरणको सेजिल क्षेप्यास्त्रबाट सुरु गरिएको थियो।’  

दूतावासले भनेको छ, ‘सेजिल मिसाइल ठोस इन्धनबाट चल्छन्। सेजिल मिसाइल इरानको सबैभन्दा सटीक र शक्तिशाली रणनीतिक हतियारमध्ये एक हुन्। सेजिल मिसाइलसँग शत्रुको महत्त्वपूर्ण स्थानमा घुसाउने र नष्ट गर्ने क्षमता छ।’

सेजिल मिसाइल करिब १८ मिटर लामो छ भने ठोस इन्धनबाट सञ्चालित छ। जसले गर्दा यसलाई अन्य इन्धन विकल्पभन्दा धेरै फाइदा छन्। यी फाइदामा छिटो प्रक्षेपण तयारी, राम्रो भण्डारण क्षमता र लडाईको समयमा बढी प्रभावकारी प्रदर्शन समावेश छ।

दायरा : सेजिलको अधिकतम दायरा २००० किलोमिटर छ। यो क्षेप्यास्त्रले इरानलाई इजरायल, दक्षिणपूर्वी युरोप र मध्य एशियाका केही भागसहित मध्य पूर्वभरि स्थानमा प्रहार गर्न सक्षम बनाउँछ।

पेलोड : यो क्षेप्यास्त्रले करिब ७०० किलोग्राम तौलको वारहेड बोक्न सक्छ। यसले स्थानविरुद्ध पर्याप्त विनाशकारी क्षमता प्रदान गर्दछ।

प्रक्षेपण तौल : मिसाइल प्रणालीको अनुमानित प्रक्षेपण तौल करिब २३,६०० किलोग्राम हुन्छ।

यस क्षेप्यास्त्रको पहिलो सफल परीक्षण २००८ मा गरिएको थियो र यसले ८०० किलोमिटरको दूरी उडाएको थियो। आधुनिक प्रविधि र नेभिगेसन प्रणालीको परीक्षण गर्न मे २००९ मा दोस्रो पटक प्रक्षेपण गरिएको थियो ।

अमेरिकी थिंक ट्याङ्क सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडीजले भनेको छ,‘सेजिल मिसाइलका धेरै प्रकार हुन सक्छन्। २००९ मा इरानले सेजिल २ भनेर वर्णन गरिएको मिसाइलको परीक्षण गरेको थियो। एउटा अपुष्ट रिपोर्टले सेजिल ३ अझ राम्रो हुन सक्ने बताएको छ। सेजिल ३ मा तीन चरण ४,००० किलोमिटरको अधिकतम दायरा र ३८,००० किलोग्रामको प्रक्षेपण तौल हुने बताइएको छ।’

२०१२ देखि यो क्षेप्यास्त्रको सार्वजनिक रूपमा परीक्षण गरिएको छैन। जसले गर्दा यसको तैनाथीको बारेमा अनिश्चितता सिर्जना भएको छ। तर हालैको द्वन्द्वको समयमा सेजिललाई प्रहार गरेको इरानको दाबीले यो अनिश्चिततालाई केही हदसम्म हटाउन मद्दत गरेको छ।

यसअघि इरानले करिब एक दशकको निष्क्रियता पछि २०२१ मा एक सैन्य अभ्यासको क्रममा यसलाई सुरु गरेको थियो।

जुन १३ मा इजरायलले तेहरान, नातान्ज र इस्फहान लगायत धेरै इरानी सैन्य र आणविक प्रतिष्ठानमा आक्रमण गर्‍यो। इजरायलले यो अपरेशनलाई ‘अपरेशन राइजिङ लायन’ नाम दिएको छ।

इजरायलका अनुसार इरानको आणविक कार्यक्रमको वार्ताबाट कुनै समाधान निस्किएपछि  इरानमाथि आक्रमण गर्नु एक मात्र विकल्प थियो।

बदलामा इरानले इजरायलमा ड्रोन र ब्यालिस्टिक मिसाइल प्रहार गर्यो। इरानी आक्रमणमध्ये एकमा दक्षिणी इजरायलको बेरशेबामा रहेको सोरोका अस्पताललाई मिसाइलले क्षति पुर्‍याएको थियो। यद्यपि, इरानले आफ्नो लक्ष्य अस्पताल नजिकै अवस्थित सैन्य स्थल रहेको बताएको छ।

इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार यस आक्रमणमा ७१ जना घाइते भएका छन्। इजरायलका अन्य क्षेत्रमा पनि रातभरि आक्रमण भएका छन्। बदलामा इरानले पहिलो सेजिल क्षेप्यास्त्र आक्रमण गरेको दाबी गर्‍यो।

अस्पतालमा भएको क्षेप्यास्त्र आक्रमणपछि इजरायलले अरक र नातान्ज लगायत इरानका केही आणविक र सैन्य अड्डालाई निशाना बनाएको थियो।

यसैबीच, राति इजरायली सेनाले अरक हेभी वाटर रिएक्टरसहित इरानको आणविक प्रतिष्ठानमा आक्रमण गरेको छ। यो आक्रमणपछि इरानी अधिकारीले हताहतको संख्याबारे कुनै जानकारी दिएका छैनन्।

यसैबिच इरानी राष्ट्रपति मसूद पेजेश्कियानले इजरायली आक्रमणप्रति प्रतिक्रिया जनाएका छन्। उनले आफूहरुले सधैं शान्ति र सद्भावको प्रस्ताव गरेको बताएका हुन्।   

राष्ट्रपति मसूद पेजेश्कियानले भने,‘वर्तमान परिस्थितिमा युद्ध अन्त्य गर्ने एक मात्र तरिका भनेको शत्रुलाई आक्रमण रोक्न र यहूदी आतंककारीको गतिविधिलाई  सधैँका लागि अन्त्य गर्न बिना शर्त ग्यारेन्टी प्रदान गर्नु हो।’उनले यसो भएन भने आफ्नो प्रतिक्रिया अझ कठोर गरेर  शत्रुलाई पछुताउनु पर्ने बताए।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर