भरतपुर महानगरले ल्यायो ५ अर्ब १९ करोडको बजेट

चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरको आज भएको १७औँ नगरसभामा नगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमा आन्तरिक आयबाट एक अर्ब ८० करोड, अन्तर सरकारी वित्तिय हस्तान्तरणबाट दुई अर्ब १५ करोड ७६ लाख २५ हजार, संघ राजस्व बाँडफाँडबाट ३१ करोड ९१ लाख, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट १४ करोड चार लाख, जनसहभागीता÷श्रमदानबाट पाँच करोड, बैंक मौज्दात ७० करोड र सडक बोर्डबाट तीन करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
चालु आर्थिक वर्षमा जेठ मसान्तसम्म पुँजीगततर्फ ३८ प्रतिशत र चालुतर्फ ६९ प्रतिशत गरी समग्रमा कुल ५३ प्रतिशतको हाराहारीमा मात्रै बजेट खर्च भएको नगरसभामा उपमेयर चित्रसेन अधिकारीले जानकारी दिए ।
महानगरपालिकाले गौतम बुद्ध क्रिकेट रंगशालाका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
महानगरपालिकामा तयार भएका पूर्वाधारको वृत्तचित्र बनाउन ३० लाख रुपैयाँ छुट्याइएको छ । महानगरपालिकाले वडास्तरीय आयोजनाहरुमा न्यूनतम ३ करोड २१ लाख रुपैयाँ र अधिकतम ३ करोड ४० लाख रुपैयाँको सिलिङ राखेर ९४ करोड ७८ लाख ७९ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सहरी पूर्वाधारतर्फको बजेट १४ करोड रुपैयाँ रहेको छ ।
शिक्षातर्फ १० करोड ५० लाख रुपैयाँ र कृषितर्फ ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको नगरसभामा उपमेयर चित्रसेन अधिकारीले जानकारी दिए । सहरभित्रका सडक खाल्डाखुल्डीरहित बनाउनका लागि नियमित मर्मत सम्भारतर्फ थप ४ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए । स्वास्थ्य सेवातर्फको बजेट ३ करोड रुपैयाँ रहेको छ । बजेटले महानगरलाई आत्मनिर्भर बनाउने उद्देश्य राखेको उपमेयर अधिकारीले बताए ।
नगरसभामा मेयर रेनु दाहालले १६१ बुँदे नीति तथा कार्यक्रम पेस गरेकी छन् । भरतपुरका ढलान भएका घरमाथि पनि जस्ताले छाउने चलन व्यापक छ । मेयर दाहालले पेस गरेको नीति तथा कार्यक्रममा सार्वजनिक तथा निजी भवनहरुमा हरित छत कार्यक्रम सुरु गर्ने र छतमा जस्तापाता लगाउने कार्यलाई निरुत्साहित गर्ने उल्लेख छ । निजी घर जग्गामा सःशुल्क पार्किङ सुरु गर्न निजी क्षेत्रलाई अनुमति दिने नीति राखिएको छ ।
प्रतिकृया दिनुहोस