• २०८२ असार १० मंगलबार
  • Tuesday, 24 June, 2025

भिजिट भिसा काण्डमा सरकारले बनाएको समितिः ‘दुधको साक्षी बिरालो’

राप्रपा र रास्वपाद्वारा अस्वीकृत, बहिष्कार यथावत
काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि नै छानविनको माग गरिरहेका संसदका दुई प्रतिपक्षी दल रास्वपा र राप्रपाले सरकारले गठन गरेको छानविन समिति अस्वीकार गरेको छ ।

जसका माथि छानविन गर्नुपर्ने हो उसैको प्रस्तावमा छानविन समिति बन्नु आरोपिहरुलाई जोगाउने प्रयत्न भएको उनीहरुको ठहर छ । 

आजको प्रतिनिधि सभा बैठक सुरु हुनेवित्तिकै गृहमन्त्री रमेश लेखकले क्याविनेटको निर्णय अनुसार पूर्वमुख्यसचिवको नेतृत्वमा समिति बनाएको जानकारी गराएका थिए ।

समितिले काम गर्ने र यो समस्याको हल निकाल्न सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले सहयोग गर्न विपक्षी दलहरुलाई पनि आव्हान गरेका थिए । 

तर रास्वपाका सांसद स्वर्णीम वाग्ले र राप्रपाका ज्ञानेन्द्र शाहीले समिति गठनप्रति असहमति जनाउदै बैठक बहिस्कार गर्ने घोषणा गरेका थिए । 

भिजिट भिसा प्रकरण गम्भीर कुशासन, संगठित भ्रष्टाचार र मानव तस्करीका रुपमा रहेको  वाग्लेको भनाइ थियो ।

समितिका संयोजक शंकरदास वैरागी १० वर्षदेखि स्थायी सत्ताको प्रिय पात्र भएको उनले आरोप लगाए । 'उहाँ अहिलेका नेताहरुबाट निगाहाप्राप्त स्वार्थप्रेरित व्यक्ति हो । उहाँ स्वयं सक्षम निकायको रडारमा भएका व्यक्ति भएपछि कसको छानबिन गर्ने ?' वाग्लेले प्रश्न गरे ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको परोक्ष संलग्नता र प्रत्यक्ष संरक्षण देखिएको पनि उनले बताए । मेरो प्रस्तावमा छानबिन समिति बनेको भन्ने गृहमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै उनले भने, 'हामी नयाँ हौं तर बेवकूफ होइनौं ।'

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि छानबिन समिति नेताहरुको निगाहमा बनेको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने बताए। भिजिट भिसा प्रकरणमा आफूहरुको आन्दोलन जारी नै रहने उनले बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर