हिजो ओली–देउवाको छलफल, आज प्रचण्ड–माधव

काठमाडौं । राजनीतिक ध्रुविकरण बढेसँगै सत्तारुढ र विपक्षी दलका नेताहरु छुट्टाछुट्टै छलफलमा जुटिरहेका छन् । हिजो बजेटमा आएको समस्या हल गर्न सत्ता पक्षका दुई शीर्ष नेता केपी ओली र शेरबहादुर देउवा छलफलमा जुटेका थिए ।
आज विपक्षीको रणनीतिबारे परामर्श गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको छलफल भयो ।
दुइ नेताहरूबीच सिंहदरबारमा छलफल भएको हो । भेटमा अध्यक्षद्वयसँगै माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ सहभागी थिए । त्यस्तै नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता वेदुराम भुसाललगायत नेता पनि छलफलमा सहभागी थिए ।
दुई दलबीच सरकारले हिजो गठन गरेको भिजिट भिसा प्रकरणमा छानबिन गर्न बनेको उच्चस्तरीय समिति, समाजवादी मोर्चालाई अगाडि बढाउनेबारे छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जानकारी दिए।
प्रचण्डले भने, ‘अहिले सदनमा भइरहेको परिस्थितिको समीक्षा, समाजवादी मोर्चालाई अब कसरी अगाडि बढाउने र दुई दलबिचको सम्बन्धको बारेमा सामान्य छलफल भएको छ। गम्भीर विषयमा होइन।’
प्रचण्डले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अन्तिम समयसम्म प्रयास गरिरहेको र अझै गर्ने प्रष्ट पारे।
यता सरकारले शंकरदास वैरागीको नेतृत्वमा गठन गरेको समितिप्रति भने रास्वपा र राप्रपाले अस्वीकार गरेको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद स्वर्णिम वाग्लेले वैरागी नेतृत्वको छानबिन समिति कुनै पनि हालतमा स्वीकार नहुने बताएका हुन्।
‘दुई दलका नेताहरू आज छलफलमा बसेका थियौँ,’ नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता भुसालले भने, ‘संसद्मा भइरहेको गतिविधि, विचाराधीन विधेयक, बजेटलगायतका विषयमा कुरा भयो।’ नेताहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।
छलफलमा सरकारले हिजो गठन गरेको भिजिट भिसा प्रकरणमा छानबिन गर्न बनेको समितिबारे छलफल भएको नेकपा एसका नेता राजेन्द्र पाण्डेले बताए ।
उनले भने, ‘भिजिट भिसाबारे हामीले संसदभित्र पनि संघर्ष गर्यौं । अहिले समिति बनाएको छ सरकारले, संसदभित्रको गतिविधिकोबारे दुई दलबीच छलफल भयो ।’
माओवादी र नेकपा एससहित दुई दलबीच भएको सहमति अनुसार सरकारले हिजो शंकरदास वैरागीको नेतृत्वमा समिति गठन गरेको थियो ।
प्रतिकृया दिनुहोस