चर्काे आलाेचनाबिच प्रतिनिधिसभाबाट बजेट पारित

काठमाडाैं । सत्तारूढ दलकै चर्काे आलाेचना र असन्तुष्टिबिच संघीय प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट पारित गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा पेस गरेको विनियोजन विधेयक २०८२ लाई प्रतिनिधिसभाको आजको बैठकले बहुमतले पारित गरेको हो।
यसअघि प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरुको अवरोधका कारण बजेट छलफलमा केही ढिलाइ हुँदै आएको थियो। त्यस्तै विद्युत् खरिदमा टेक एन्ड पे राखिएको भन्दै ऊर्जा व्यवसायीहरुले सच्याउन माग गर्दै आएका थिए।
अर्थमन्त्री विष्णु पौडेलले मंगलबार टेक एन्ड पेको प्रावधान फिर्ता लिएको बैठकमा जानकारी गराएका थिए। त्यसअघि नै सत्ता साझेदार दल नेपाली कांग्रेसले उक्त प्रावधान नसच्चिए बजेट पारित नहुने चेतावनी दिएको थियो। टेक एन्ड पेको प्रावधान सच्चिएसँगै बजेट पनि पारित भएको छ।
बैठकमा सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमलनलाल मोदी, जनार्दन शर्मा, बिमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्ति बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत सुवेदी, उर्मिला माझी, हितबहादुर तामाङ, अम्मरबहादुर थापा, छिरिङ ल्यामु लामा (तामाङ), गंगा कार्की र लेखनाथ दाहालले खर्च कटौतीका प्रस्ताव राखेका थिए ।
अर्थमन्त्री पौडेलले जेठ १५ मा सरकारको आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस