केन्द्रबाट लिनु अघि जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता

बुटवल । संघीय सरकारबाट समेत फिर्ता हुने निचोडमा पुगिसकेको उपेन्द्र यादव नेतृत्वको जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

पार्टीका तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले शुक्रबार समर्थन फिर्ता लिएको बेहोरा सहितको पत्र मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएको सचिवालयले जानकारी दिएको छ। 

काफ्लेले बुझाएको पत्रमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख छ।

साथै उनले पत्र मार्फत प्रदेश सभा बैठकमा विपक्षीको आसनमा व्यवस्था मिलाउन पनि आग्रह गरेका छन्।

जसपा नेपालले समर्थन फिर्ता लिने पत्र बुझाएपनि छलफल भइरहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ। लुम्बिनी प्रदेशमा जसपा नेपालबाट काफ्ले एक मात्र सांसद हुन्। 

जसपाले केन्द्रमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने केन्द्रीय कार्यकारिणी समिति बैठकले निर्णय लिएको थियो। समितिले गरेको निर्णय संसदीय दलको बैठकले सदर गरेपछि समर्थन फिर्ता लिने तयारी छ।

जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले समर्थन फिर्ता लिनुकाे कारणबारे भने, 'जसपा नेपालले यसपटक अन्य थुप्रै विमतिका बाबजुद कांग्रेस–एमाले गठबन्धनको सरकारलाई निसर्त समर्थन गर्यो । प्रमुख दलहरु स्वयंले नै संविधान संशोधनको आवश्यकता र औचित्य देखेको कारण यसपटक संविधान संशोधन हुन सक्ने जसपा नेपालको अनुमान थियो । तर सधैँ झैँ उनीहरुको प्रतिबद्धता कागजमै सीमित रहने देखियो । संविधान संशोधन गर्ने सहमतिको पनि एक वर्ष पुरा हुन लाग्यो । गठबन्धन सरकारबाट संविधान संशोधन हुने  कुनै संकेत, आधार र अवस्था देखिएन । सरकारलाई दिएको समर्थनको ओैचित्य नरहेपछि जसपा नेपाल सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुग्यो ।'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर