मलमा किसानले पाएकाे अनुदान नराेक्न एकीकृत समाजवादीकाे माग

काठमाडाैं । संसदकाे प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले रसायनिक मलमा किसानले पाउने गरेकाे अनुदान नराेक्न सरकारसँग माग गरेकाे छ ।
केन्द्रीय सचिवालयको आज अध्यक्ष कमरेड माधव कुमार नेपालको अध्यक्षतामा बसेकाे बैठकले किसानहरूले बेलामा मल नभएकाले सहज उपलव्ध गराउन पनि माग गरेकाे प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।
समाजवादीले भनेकाे छ, 'सरकारले उच्च उत्पादक किसानलाई विगत २० बर्षदेखि दिँदै आएको अनुदान बन्द गर्ने निर्णय गरेको छ । प्रतिक्विन्टल रु ७०० का दरले दिने गरेको अनुदान लिन बन्द गरेपछि उच्च उत्पादक किसानलाई ठूलो धक्का पुगेको छ । हाम्रो पार्टी उच्च उत्पादक किसानलाई अनुदान लिन बन्द गर्ने सरकारको निर्णयको विरोध गर्दछ । उक्त निर्णय तुरुन्त फिर्ता गर्न र उच्च उत्पादनवाला किसानलाई दिने अनुदान निरन्तर जारी राख्न माग गर्दछ । मुलुकको मुख्य खाद्य बालीको रुपमा रहने धान रोपाइँको समयमा किसानहरुले आवश्यक मल पाउन सकिरहेका छैनन् । चाँडै मल वितरण गर्न र वितरण गर्न नेकपा एस माँग गर्दछ ।'
समाजवादीकाे बैठकले यस वर्षको मनसुनले असारमै धेरै ठाउँमा बाढी र पहिरोको ध्यानमा राख्दै संभावित विपद् रोकथाम, राहत र व्यवस्थापनको लागि पूर्व तयारी यथेष्ट सहयोग तत्काल उपलब्ध गराउनुपर्ने र प्रभावित क्षेत्रमा तत्काल राहत कार्यहरु संचालन गर्न पनि पार्टी नेपाल सरकारसँग माग गरेकाे छ ।
समाजवादीकाे बैठक भाेलि पनि बस्ने छ ।
प्रतिकृया दिनुहोस