• २०८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025

एमाले अध्यक्ष बन्ने लक्षसहित विद्या भण्डारीले आजदेखि सक्रिय राजनीतिमा, ओलीकाे राेक्ने रणनीति 

काठमाडाैं । आगामी महाधिवेशनबाट पार्टीकाे अध्यक्ष बन्ने तयारीमा लागेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि एमालेकाे सक्रिय राजनीतिमा फर्कदैछन् । 

राष्ट्रपति बनेपछि झन्डै १० वर्ष औपचारिक रूपमा राजनीति छाडेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज असार १४ गते आफू नेकपा एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गर्ने तयारी गरेकाे उनी निकटका नेताहरू बताउँछन्।

उनका पति मदन भण्डारीको ७५औँ जन्म जयन्तीको अवरमा आज ‘मदन भण्डारी फाउन्डेसन’ले आयोजना गर्ने बृहत् कार्यक्रममार्फत उनले आफू पुनः एमालेको राजनीतिमा फर्किएको उद्घोष गर्ने भएकी हुन्। कार्यक्रम काठमाडौँको भृकुटीमन्डपस्थित पुरानो राष्ट्रिय सभा गृहमा हुनेछ। 

यस कार्यक्रमकाे प्रमुख अतिथि भने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी अेालीलाइ बनाइएकाे छ । जाे भण्डारीलाइ अध्यक्षका लागि मात्रै हाेइन सक्रिय राजनीतिमा आउने बाटाे नै बन्द गर्न चाहान्छन् ।

राष्ट्रपति पदबाट बिदा भएलगत्तै यसअघिदेखि नै एमाले नेता-कार्यकर्तालाई भेट्न देशदौडाहा गरिरहेकी भण्डारीले आज भने आफू औपचारिक रूपमा पार्टीको राजनीतिमा फर्किएको घोषणा गर्ने भएकी हुन्। 

२०७२ कात्तिक ११ गते राष्ट्रपति बनेकी भण्डारी २०७४ फागुन २९ मा लगातार दोस्रो कार्यकालका लागि पुन: राष्ट्रपति चुनिइन्।

२०७९ फागुन २९ गते राष्ट्रपतिको कार्यालय (शीतलनिवास) बाट बाहिरिएकी उनी फेरि पार्टी राजनीतिमा फर्किन लागेकी हुन्। राष्ट्रपति हुनुअघि उनी एमालेमा उपाध्यक्ष थिइन्।

फाउन्डेसनका संरक्षकसमेत रहेका एमाले अध्यक्ष ओली आजै स्पेन भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम छ।

 उनी साँझ मात्र स्पेनका लागि प्रस्थान गर्ने भएकाले मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा जाने सम्भावना पनि छ।  

फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले भने प्रधानमन्त्री ओली आफैँले कार्यक्रममा सहभागी हुने जानकारी दिएको बताएकी छन्।   

पछिल्लो समय भण्डारी निकट रहेका नेता कर्ण थापाले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन संविधान, ऐन, कानुन तथा पार्टी विधानले नछेक्ने बताए। 

‘उहाँलाई छेक्ने तयारी भैरहेको भन्ने पनि सुनिएको छ। त्यसबारे बहस हुँदै जाला। तर, उहाँले भोलि बोल्नुहुन्छ,’ थापाले भने। 

विधानमै निषेधकारी व्यवस्था गरेर पूर्वराष्ट्रपतिलाई पार्टी सदस्य हुनबाट रोक्नुपर्ने विषय महासचिव शंकर पोखरेल स्वयंले अघि सारेका छन्।

बुधबार एमालेको ५३ औं सचिवालयको बैठकमा महासचिव शंकर पोखरेलले गणतन्त्रप्रति चौतर्फी प्रहार भइरहेको बेला पूर्वराष्ट्रपति फेरि पार्टी राजनीतिमा फर्कने विषयले झनै नराम्रो गर्ने बताउँदै यो विषय सचिवालयमा उठाएका थिए। 

देशभित्र मदन भण्डारी फाउन्डेसनमार्फत राजनीतिक सक्रियता बढाएकी भण्डारीले पछिल्लो पटक छिमेकी देश चीनको भ्रमणसमेत गरिन्। उनी निकट नेताहरूले भण्डारीले चीनबाट नेतृत्व र कम्युनिष्ट एकताका लागि ‘सद्भाव’ लिएर फर्किएको बताउने गरेका छन्।  

पछिल्लो पटक भण्डारीले ओलीलाई पार्टी नेतृत्वमा समर्थनका लागि आह्वान गरेकी थिइन्। ओलीको जवाफ स्पष्ट रूपमा सार्वजनिक भएको छैन। तर, ओलीले 'आफू जवान नै भएको', 'अझै २० वर्ष नेतृत्वमा रहने सक्ने' लगायतका अभिव्यक्ति दिँदै आएका छन्। 

अध्यक्ष केपी ओलीले एमालेमा कुनै गुटको अस्तित्व छैन भन्दै गर्दा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी महाधिवेशनबाट पार्टी अध्यक्षसहित सक्रिय राजनीतिमा फर्कने तयारी गरिरहेकी छन् ।

उनिहरुले आगामी विधान महाधिवेशनलाई निर्णायक संघर्षको बिन्दु बनाएका छन् । 

एमालेमा अहिले पनि विधानमा यस अघि व्यवस्था रहेको ७० वर्षे उमेरहद्को विषय बहसमा छ । ७० वर्षे उमेर हद र दुई कार्यकाल भन्दा बढि पार्टीको मूल नेतृत्वमा हुन नपाउने व्यवस्था हुने हो भने अहिलेका अध्यक्ष केपी ओली स्वत बिदा हुनेछन् । विद्या भण्डारी पक्ष यही गर्न खोजिरहेको छ । 

अहिले विभिन्न पार्टीहरुसँगको एकताका लागि भने निलम्बन गरिएको उमेरहद र दुई कार्यकालको व्यवस्था सधैंका लागि लागू गर्ने पक्षमा ओली पक्षीय नेताहरु लागेका छन् । 

यो कार्यक्रममा यी दुई नेताले कस्तो विचार व्यक्त गर्दछन् भन्ने कुरा एमाले बृत्तमा चासोको विषय बनेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर