भारी वर्षापछि धनगढी आसपास जलमग्न

कैलाली । गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टिको बस्तीलगायत आसपासका स्थानहरू जलमग्न भएका छन् ।
त्यसैगरी, अधिकांश पसल पनि डुबानमा परेका छन् । भारी वर्षाले सडक तथा नाली पूरै भरिएर सडकमा हिँड्न सर्वसाधारणलाई समस्या भएको छ । अव्यवस्थित तथा पुराना नालीका कारण अलि पनि बढी पानी परेपछि निकासा हुन नसक्दा हरेक वर्ष वर्षातमा यस्तो अवस्था सिर्जना हुने गरेको छ ।
पानी निकासा हुने पुराना खोलानालाहरू अतिक्रमण भएका कारण पनि वर्षैपिच्छे यहाँका बस्तीहरू डुबानमा पर्ने गरेको स्थानीयवासीको भनाइ छ ।
ढलको व्यवस्थापन नभई सडक पिच हुने गरेका कारण पनि बस्ती डुबानमा पर्ने गरेको स्थानीय अगुवा शिवराज जोशीले बताए ।
पानी निकास हुने पुराना खोलानाला मासिएकाले पनि डुबानको समस्या दोहोरिँदै गरेको वडा नं २ का अध्यक्ष धर्मराज ओझाकोे भनाइ छ । धनगढीका विभिन्न स्थान जलमग्न भए पनि मानवीय तथा भौतिक क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
अविरल वर्षाका कारण जनजीवन मात्र होइन, शैक्षिक गतिविधिमा पनि असर परेको छ । ऐश्वर्य विद्या निकेतन लगायतका विद्यालयहरूले एक दिनका लागि पठनपाठन स्थगित गरेका छन् ।
ऐश्वर्य विद्या निकेतनका निमित्त प्राचार्य सञ्जय पन्तद्वारा जारी सूचनामा विद्यालय परिसर जलमग्न भएको र विद्यार्थी तथा शिक्षकहरूको आवतजावतमा समस्या भएपछि आज एक दिन विद्यालय बन्द गरिएको उल्लेख गरिएको छ ।
यसैबीच, सुदूरपश्चिमका कञ्चनपुर र कैलाली जिल्लामा बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो २४ घण्टामा बेलौरीको शान्तिपुरमा २६४.६ मिलिमिटर र कृष्णपुरमा १८४ मिलिमिटर वर्षा मापन भएको छ ।
महाकाली, मोहना, मछेली, दोदा, स्याली, चौधर लगायत नदी तथा खोलाहरूमा पानीको सतह उल्लेख्य रूपमा बढेको छ । विभागले नदी तटीय क्षेत्र र डुबान क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान र विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस