शेखर गुटबाट राजनीतिमा फर्कने दाउमा खाँड, चुनाव लड्न पाउँछन् ?

काठमाडौं । गम्भिर नैतिक प्रश्न जोडिएको विषयमा उनीमाथि मुद्दा चलिरहेकाले उनले चुनाव लड्न पाउँछन् कि पाउँदैनन् भन्ने जिज्ञासा एकातिर छ भने यस्तो प्रश्न उठेका व्यक्ति कस्तो नैतिक बलमा चुनाव लड्न जनताकोमा जालान् भन्ने अर्को प्रश्न पनि छन् । भलै कानुनको प्रावधानले बन्देज नलगाएको खण्डमा उनलाई पार्टीले चुनाव दियो भने चुनाव लड्न भने सक्नेछन् । जतिाउने हराउने जनताको हातमा हुनेछ ।
भुटानी शरणार्थी प्रकरणमा आरोपित खाँण रूपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थायी बसोबास रहेकाे छ । उनी रूपन्देही निर्वाचन क्षेत्र नं.–३ को कात्तिक १७ मा हुने उपनिर्वाचनबाट राजनीतिमा ‘कमब्याक’को प्रयासमा छन् ।
भुटानी शरणार्थी प्रकरणमा सात महिना कारागार बसेर उनी २०८० मंसिर २८ मा पाटन उच्च अदालतबाट ३० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । उनी २०८० वैशाख २७ गते पक्राउ परेका थिए । गृहमन्त्री रहेका बेला खाँणले गृहसचिव टेकनारायण पाण्डेसँग रकम लेनदेनको कुराकानी गरेको प्रमाण फेला परेको अभियोगमा उनलाई पक्राउ गरेर थुनामा राखिएको थियो । खाँण गृहमन्त्री भएकै बेला रूपन्देही क्षेत्र नं. ३ बाट चुनाव लडेका थिए ।
तर, कांग्रेस–माओवादीको गठबन्धनका खाँणलाई पराजित गर्दै एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका दीपक बोहोरा २ हजार ६ सय ८१ मतान्तरले विजयी भए । बोहोराले ३६ हजार ७१७ मत ल्याउँदा खाँणले ३४ हजार ३६ मत मात्र प्राप्त गरेका थिए । बोहोरालाई २०७४ को निर्वाचनमा कांग्रेसले सहयोग गरेको थियो । तर, एमालेका घनश्याम भूसालले जितेका थिए ।
बोहोरालाई समर्थन गर्दै त्यतिबेला कांग्रेस नेता खाँण समानुपातिकमा बसेका थिए । तर, अहिले तिनै बोहोराले बहालवाला गृहमन्त्री खाँणलाई निर्वाचन अभियानमा बोल्दै नबोली चुनाव हराएका थिए ।
बोहोराको २०८१ चैत १९ मा निधन भएपछि रूपन्देही क्षेत्र नं. ३ मा कात्तिक १७ गतेका लागि निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोकिसकेको छ । सोही उपनिर्वाचनमार्फत खाँण पुनः सक्रिय राजनीतिमा ‘कमब्याक’को खोजीमा लागेका हुन् । त्यसका लागि उनले सत्तारूढ दल एमालेसँग पनि सहयोगका लागि आग्रह गरिरहेको स्रोतको दाबी छ ।
भुटानी शरणार्थी प्रकरणको मुद्दा टुंगिएको छैन । टुंग्याउने प्रयास सुरु भए पनि त्यसको प्रक्रिया लामो हुने कानुनविद्हरूको भनाइ छ । पाटन उच्च अदालतबाट धरौटीमा रिहा भए पनि सोही प्रकरणका अन्य अभियुक्तहरू पूर्वगृहसचिव टेकनारायण पाण्डे, एमाले नेता टोपबहादुर रायमाझी थुनामै छन् ।
उच्च अदालतको संयुक्त इजलासमा ‘राय बाझिएको’ अवस्थामा तेस्रो न्यायाधीशको निर्णयपछि खाँण ३० लाख रुपैयाँ धरौटीमा छुटेका थिए । खाँणलाई थुनामा पठाउने या नपठाउने भन्ने विषयमा उच्च अदालत पाटनको संयुक्त इजलासमा ‘राय बाझिए’को थियो । लगत्तै, तेस्रो न्यायाधीश समक्ष पेस भएपछि यो मुद्दामा खाँणलाई ३० लाख धरौटीमा छोड्न आदेश भएको थियो ।
धरौटीमा छुटेका बालकृष्ण खाँण उठ्ने चर्चासँगै आउँदो उपनिर्वाचनमा उनी उठ्न पाउने वा नपाउने भन्ने विषयमा कानुनी प्रश्न भने उठ्ने देखिन्छ ।
प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित लागि ‘प्रतिनिधिसभा निर्वाचन ऐन २०७४’ अनुसार खाँणलाई आउँदो उपचुनावमा उम्मेदवार बन्न प्रतिबन्ध नलाग्ने देखिन्छ । ठगी, किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा मुद्दा खेपिरहेका खाँण वर्तमान कानुनीव्यवस्था अनुसार आउँदो उपनिर्वाचनमा उम्मेदवार बन्नबाट रोकिँदैनन् ।
दफा १३ ले अयोग्यताका लागि १० वटा बुँदाहरू रहेका छन् । त्यसअनुसार केही समीति मुद्दाहरूमा अदालतले ‘अन्तिम फैसला’ गरेको अवस्थामा मात्र उम्मेदवार बन्न पाउँदैनन् ।
अर्थात्, अदालतमा मुद्दा विचाराधीन भएकै आधारमा खाँणलाई उम्मेदवार बन्न नरोक्ने देखिन्छ ।
वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई पनि प्रचलित संविधान र कानुनका आधारमा बालकृष्ण खाँण उम्मेदवार हुन पाउने बताउँछन् । भट्टराईले कानुनले छुट दिए पनि पार्टीले टिकट दिँदा र निर्वाचनको बेला जनतामा जाँदा प्रश्न उठ्ने बताउँछन् ।
रूपन्देही-३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् । रूपन्देही–३ मा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकालाई समेटिएको छ । नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् ।
२०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २० हजार २ सय ७८ मत पाएको थियो । एमालेले १६ हजार ९ सय ८६ मत पाउँदा रास्वपाले १४ हजार १ सय ५४ मत ल्याएको थियो । प्रत्यक्षमा जित हासिल गरेको राप्रपाले ९ हजार १ सय ८३, नागरिक उन्मुक्ति पार्टीले ६ हजार १०, जसपाले ५ हजार २ सय ९१, लोसपाले ५ हजार ५३, जनमत पार्टीले ३ हजार ७ सय ३२, माओवादी केन्द्रले २ हजार ६ सय, जनमुक्ति पार्टीले १ हजार ९ सय, हाम्रो नेपाली पार्टीको लौरोले १ हजार ३ सय ४७ र नेकपा एसले ७ सय ८१ मत पाएका थिए ।
प्रतिकृया दिनुहोस